मन्त्रिहरुलाई कांग्रेसको निर्देशन- हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्नु
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीबाट नेतृत्व गरेर सरकारकमा गएका मन्त्रीहरूलाई हप्तामा दुई दिन अनिवार्य जनताको गुनासो सुन्न निर्देशन दिएको छ ।
आज बिहिबार सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेर पार्टीले उक्त निर्णय गरेको हो । बैठक पश्चात् जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले पालैपालो मन्त्रीले जनता र कार्यकर्ताको गुनासो पार्टी अफिसमा गएर सुन्न निर्देशन दिइएको बताए । ‘हप्तामा दुई दिन खुल्ला भेटघाट गर्ने, पार्टी अफिसमा गएर कार्यकर्तासँग भेटघाट गर्ने र नागरिकको गुनासो सुन्न निर्देशन दिएका छौँ‚’ उनले भने ।
त्यसैगरी एमालेसँग भएको सहमतिअनुसार काम गर्न पनि आफ्ना मन्त्रीहरुलाई सभापति देउवाले निर्देशन दिएका छन् । उनले मन्त्रीहरूको ब्रिफिङ सुनेपछि सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका हुन् । बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकका अनुसार देउवाले सबै मन्त्रीहरूको कुरा सुनेपछि यस्तो बताएका हुन् । बैठकमा हामी दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनले बताए ।