५० हजार धरौटीमा निकोलस भुसाल रिहा

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ परेका भुसालविरुद्ध शुक्रबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश शंकरबहादुर राईको इजलासले डा. भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।

यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । प्रहरी अनुसन्धानका क्रममा तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गर्दै डा. भुसाललाई अदालत उपस्थित हाजिर गराइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *