मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
मकवानपुर । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । बोहराका अनुसार कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको घटना विवरण प्राप्त भएको छ । कोठामा थापाका दाइ पुग्दा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको र उपचारको क्रममा साँझ ६ः३८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए । थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उनले जानकारी दिए । थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका थिए । आइतबार थापाकी छोरीको जन्मोत्सव मनाउन हेटौँडा नफर्की काठमाडौँमै बसेका थिए । काम विशेषले मन्त्री श्रेष्ठ शनिबार रौतहटमा जानुपर्ने भएकाले थापालाई काठमाडौँमै छोडेर फर्किएका थिए । आइतबार छोरीको जन्मोत्सव मनाएर उनी राति १० बजे कोठाबाट बाहिरिएका थिए । सो पश्चात् उनी परिवारको सम्पर्कमा थिएनन् । सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको मन्त्री श्रेष्ठले बताए । सो अडियोमा धादिङका एक जनाको आवाजसमेत रहेको र ती व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछपछि प्रहरी रिहा गरेको पाइएको छ । अडियो क्लिपको बारेमा सामान्य सोधपुछपछि ती व्यक्तिलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाउने उनको भनाइ छ । प्रहरी परिसरले मृतक थापाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको विवरण रहेको मन्त्री श्रेष्ठको भनाइ छ । थापाको शव टिचिङ अस्पतालमा राखिएको छ भने घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ । स्वकीय थापाको अडियोमा उल्लेख भएको सुमेरु सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । सो सहकारीले मन्त्रालयको निर्णयको विरुद्धमा सर्वोच्चमा रिटसमेत दायर गरेर अल्पकालीन आदेश लिएको छ । उक्त सहकारीको विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।