महाकुम्भ मेलामा ६५ करोडले स्नान गरे
काठमाडौं । विश्वको सबैभन्दा ठूलो मानव भेला महाकुम्भ बुधबार सूर्यास्तसँगै सकिएको छ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् ।
महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । महाशिवरात्रीको अमृत स्नानसँगै ४५ दिन लामो यस मेलाको अन्तिम दिन बुधबार मात्रै १ करोड ५३ लाख मानिसहरूले स्नान गरे । महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी) देखि सुरु भएको थियो ।
संगममा डुबुल्की मार्ने यो संख्या १९३ देशको जनसंख्याभन्दा बढी छ । भारतको उत्तरप्रदेश सरकारले विश्वभरका हिन्दूहरूको आधा जनसंख्या बराबर मानिसहरू यहाँ आएको दाबी गरेको छ । मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए । महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए । यो ४५ दिनको अवधिमा पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, बसन्त पञ्चमी, माघि पूर्णिमा र महाशिवरात्रीमा गरी ६ वटा विशेष वा अमृत स्नान भएका थिए।
मेलाको समापन कार्यक्रम आजलाई राखिएको छ । समापन कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ दुवै उप-मुख्यमन्त्री ब्रजेश पाठक र केशव मौर्य महाकुम्भको समापन समारोहमा उपस्थित हुनेछन्। शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो ।