महानिरीक्ष कुँवर भोलिदेखि अवकाशमा जााँदै, को बन्दै छ नयाँ प्रहरी प्रमुख ?
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर भोलिदेखि अनिवार्य अवकाशमा जााँदैछन् । उनी ३० वर्षे सेवा अवधि पुरा गरेर भोलि अर्थात चैत ४ गते अनिवार्य अवकाश हुने भएका हुन् ।
महानिरीक्षक कुँवरसँगै अन्य ९ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा हुनेछन् । झन्डै ८० हजार जनशक्ति रहेको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी भोलिबाट नेतृत्वविहीन हुँदैछ । तर, आइजिपीले अवकाश पाउन १ दिन मात्र बाँकी रहँदा पनि सरकारले हालसम्म प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन ।
प्रहरीको ३१ औं प्रमुख चयनलाई राजनीतिक दाउपेचको विषय बनाइँदा ढिलाइ भएको छ । आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी प्रहरीको ३१औँ आइजिपीको मुख्य दाबेदार छन् । जसमा एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।
उनीहरू ०५२ साल भदौ १८ गते इन्स्पेक्टरमा नियुक्त भएका थिए । अहिलेकै ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरूमध्ये एकजना करिब ६ महिनाका लागि आइजिपी हुनेछन् । जसको टुंगो सोमबार मात्र लाग्ने सम्भावना देखिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सोमबारको नियमित मन्त्रिपरिषद्को बैठकले नयाँ आइजिपी नियुक्ति गर्ने सम्भावना देखिएको छ ।
आइजीपी बढुवाको सम्पूर्ण अधिकार प्रहरी नियमावलीले नेपाल सरकारलाई दिएको छ। वरियताक्रम तथा कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमका आधारमा आइजीमा बढुवा हुने व्यवस्था छ। आइजी पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरूमध्येबाट र एआइजीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्नेछ भन्ने व्यवस्था छ।