‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक, अटिज़मप्रति जनचेतना फैलाउने प्रयास
काठमाडौँ । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक भएको छ ।
यो चलचित्र अटिजमको विषयमा आधारित रहेको छ । यस चलचित्रको मुख्य उद्देश्य समाजमा अटिजमप्रति सकारात्मक सोच र समझ बनाउनु साथै अटिजमप्रति जनचेतना फैलाउनु हो । अटिजमको बारेमा कम चर्चा हुने नेपालजस्तो देशमा यस्तो चलचित्रको आगमन एक सकारात्मक कदम मान्न सकिन्छ । चलचित्रमा प्रमुख पात्र मिरा रहेकी छिन्, ट्रेलरमा मिराको जीवनका विभिन्न भोगाई र उसका सामाजिक सम्बन्धको सङ्घर्षलाई देखाइएको छ, जसले दर्शकलाई यो बुझ्नमा मद्दत पुर्याउँछ कि अटिजम भएका व्यक्तिहरूसँग कसरी व्यवहार गर्नु पर्छ र उनीहरूको जीवनमा के कस्ता चुनौतीहरू आउँछन् ।
चलचित्रको ट्रेलरले मिराको जीवनको कठिनाइ र समर्पणलाई उजागर गर्छ । अभिनेत्री तथा निर्देशक अनिता पण्डितले मिराको भूमिका निभाएकी छन् र उनले यस पात्रलाई जीवित बनाउने क्रममा अत्यधिक भावनात्मक र सामाजिक गहिराईमा काम गरिन् । ट्रेलरमा देखा परेको मिराको सङ्घर्ष र आन्तरिक शक्ति धेरै दर्शकलाई प्रेरित गर्ने निश्चित छ। ‘मिरा स्याडो अफ अ रेन्बो’ निर्माणका बारेमा निर्देशक अनिता पण्डितले सत्याग्रह अनलाइनलाई भन्नुभयो, ‘हामीले यो फिल्म बनाउनको उद्देश्य केवल अटिजमको बारेमा जनचेतना फैलाउनु मात्र होइन, यस्ता समस्या के कसरी समाधान गर्न सकिन्छ यस बारेमा सरकारले समेत ध्यान दिन जरुरी छ’ उहाँले बताउनुभयो । चलचित्रले अटिजमको बारेमा समाजमा अझ बढी खुल्ला वार्ता र समर्पणका साथ व्यवहार गर्न आवश्यक छ भन्ने सन्देश दिने निर्देशक पण्डितले बताउनुभयो ।
अटिजम निर्देशक पण्डितले भनेअनुसार एक न्यूरोविकृति हो, जसले मस्तिष्कको विकास र व्यवहारलाई प्रभाव पार्छ । यसले व्यक्तिको सामाजिक, सञ्चार, र व्यवहार क्षमता प्रभावित गर्न सक्छ । अटिजम भएका व्यक्तिहरूलाई अरूसँग कुरा गर्न र बुझ्नमा समस्या हुन सक्छ । साथै, केही व्यक्तिहरूलाई एकै प्रकारको क्रियाकलापमा बारम्बार रुचि हुन्छ, वा उनीहरू सँगै केही निश्चित गतिविधि गर्न चाहन्छन् । उहाँले भने अनुसार अटिजमको असर हरेक व्यक्तिमा फरक-फरक हुन्छ । केही व्यक्तिहरू बुद्धिमान र सामाजिक रूपमा सक्षम हुन सक्छन् भने अन्यलाई बढी सहयोगको आवश्यकता पर्छ ।
यस चलचित्रमा अनिता पण्डितको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो । अभिनेत्री तथा निर्देशक अनिता पण्डितका अनुसार मङ्गलवार (भोलि) काठमाडौँको बानेश्वर स्थित ‘आइएन आई’ सिनेमा हलमा ५ बजेका लागि विशेष सो आयोजना गरिएको छ । उनका अनुसार रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन् ।
सार्वजनिक ट्रेलर