नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरे
काठमाडौँ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि उनले पहिलो निर्णयका रूपमा पाँच सय र एक हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । पदभार ग्रहणपछि गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति फरक विषय भएको प्रष्ट पारे । उनले भने, “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो । तर, सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौँ ।”
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै गभर्नर पौडेल बालुवाटारस्थि केन्द्रीय बैंकमा पुगेर पदभारग्रहरण गरेका हुन् । केन्द्रीय बैंक प्रवेशअघि उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।