सभापति देउवाको नाममा राजसंस्थाबारे भ्रामक प्रचार गरिएको भन्दै खण्डन
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको नाममा राजसंस्थाबारे भ्रामक प्रचार गरिएको भन्दै खण्डन गरेका छन्।
विश्वकर्माले देउवा २०६२/६३ को जनआन्दोलनबाट स्थापित संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रका दृढ पक्षधर नेता भएको उल्लेख गर्दै “उहाँ नागरिक स्वतन्त्रता, समानता र न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका न केवल हिमायती, तर एक अथक योद्धा पनि हुनुहुन्छ,” भनेका छन्। उनले देउवाले राजसंस्थाबारे कुनै धारणा व्यक्त नगरेको दाबी गर्दै अनर्गल प्रचारप्रति आपत्ति जनाए। “कसैले क्षणिक स्वार्थ पूर्तिका लागि उहाँको नाममा झुटा सूचना फैलाउनु अनैतिक कार्य हो,” उनले भने।
विश्वकर्माले पत्रकारिता पेशामा जिम्मेवारी र सत्यको मर्म नबुझी, नबोलेको कुरा मनगढन्ते शैलीमा प्रचार गर्नु पत्रकारिताको धर्मविपरीत हुने बताए।