संसदीय दलको नेतामा सबैभन्दा धेरैपटक चुनाव लडेर रेकर्ड राख्दै देउवा
काठमाडौं । नेपालको बहुदलीय इतिहासमै संसदीय दलको नेता पदका लागि सबैभन्दा धेरैपटक चुनाव लडेको रेकर्ड कांग्रेस सभापति शेरबहादुर देउवाले राखेका छन् ।
उनले २०५१ मा खुमबहादुर खड्का, २०५७ मा गिरिजाप्रसाद कोइराला, २०५८ मा सुशील कोइराला, २०६३ मा विजयकुमार गच्छदार, २०६४ मा रामचन्द्र पौडेल, २०७० मा सुशील कोइराला र २०७४ मा प्रकाशमान सिंहसँग संसदीय दलको नेता पदमा चुनाव लडिसकेका छन् ।
सातपटक चुनाव लड्दा देउवाले चारपटक जितेका छन् । सातपटक संसदीय दलको नेता पदमा चुनाव लडेर अनुभव सम्हालेका देउवा फेरि पनि दलको नेताका लागि चुनाव लड्ने भएका छन् । यसपटक पार्टी महामन्त्री गगन थापासँग उनको सम्भावित प्रतिस्पर्धालाई रोचक मानिएको छ ।
कांग्रेससँग ८९ सांसद छन् । चुनाव जित्न ४५ भोट भए पुग्छ । तर संस्थापन पक्षका सांसदको संख्या ६० भन्दा बढी छ । यो अंकगणित हेर्दा गगन थापाबाहेक जोसँग प्रतिस्पर्धा गरे पनि सभापति देउवाले दुई तिहाइ बढी मत ल्याएर चुनाव जित्ने निश्चित छ ।
नेपाली कांग्रेसको प्रत्यक्षतर्फबाट चुनाव जित्ने ५७ मध्ये इतर पक्षका २२ जना छन् । बाँकी ३५ मध्ये प्रकाशमान सिंह, रामचन्द्र पौडेल, विमलेन्द्र निधि निकट ११ जना छन् । यो ११ को साथसहयोग भयो भने गगनको पक्षमा ३३ हुन्छ, देउवाको पक्षमा २४ हुन्छ ।
तर, अहिलेको अवस्थामा त्यो सम्भव छैन कांग्रेससँग समानुपातिकतर्फ ३२ जना सांसद छन् । जसमध्ये इतर पक्षका १३ जना र संस्थापन पक्षमा १९ जना छन् । तर समानुपातिकका धेरैजसो महिला अझै निर्णयमा पुगेका छैनन् ।
















