वाणिज्य बैंकले उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच सम्झौता भएको छ । बैंक र परिषद् बीच युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्झौताले युवाहरुमा उद्यमशीलता, रोजगारी तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चातको त्रिपक्षिय सहकार्यबाट कर्जाको सदुपयोगिता बढ्न गई उत्पादन तथा स्वरोजगारी सृजनामा सघाउ पुग्ने बताए ।














