लक्ष्मी र सनराइज बैंक २८ गते एकीकृत कारोबार गर्दै


काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार असार २८ गतेका लागि तय भएको छ । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । तर, एकीकृत कारोबार सुरु गर्नुअघि कम्तिमा दुई दिन बैंक बन्द गर्नुपर्ने हुन्छ । कर तिर्ने बेलामा बैंक बन्द गर्नुपर्ने भएकाले एकीकृत कारोबारको मिति २८ गतेको प्रस्ताव गरिएको बैंकका अधिकारीहरुले बताएका छन् । सरकारलाई तिर्ने कर असार २५ गतेभित्रमा तिर्नुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि दुई दिनभित्र अन्तिम स्वीकृति दिने तयारी गरिरहेको बताएको छ । राष्ट्र बैंकको स्वीकृति पाउने बित्तिकै एकीकृत कारोबार गर्ने सञ्चालक थापाले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने भनिए पनि राष्ट्र बैंकले हस्तक्षेप गरेर लक्ष्मी बैंककै नाम राख्न लगाउने बलियो सम्भावना छ । यसअघि दुवै बैंकबीच लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्ने सम्झौता भएको थियो ।

स्रोतका अनुसार मर्जरपश्चात् बैंकको नाम लक्ष्मी बैंक नै रहने छ । ‘नामको विषयमा राष्ट्र बैंकले हस्तक्षेप गरेर पठाउने संकेत गरेको छ, हस्तक्षेप गरेपछि लक्ष्मी बैंक नै तोकर पठाउँछ,’ स्रोतले भन्यो, ‘किनभने सनराइज बैंकको कुनै पनि चर्चा छैन, सनराइज बैंक भर्खरको बैंक हो र पर्फमेन्सका हिसाबले पनि बजारमा कमजोर देखिन्छ । केही दिन अघि दुवै बैंकका सञ्चालकलाई राष्ट्र बैंकले बोलाएर मर्जरपछि बन्ने बै‌कको नाम के राख्नुहुन्छ ? भनेर सोधेको थियो । त्यसबेला दुवै बैंकका सञ्चालकले आआफ्नो बैंककै नाम नै हुनुपर्ने दावी गरेका थिए । नाममा दुवै बैंकका सञ्चालकबीच विवाद हुने देखिएपछि राष्ट्र बैंकले नै बै‌कको नाम तोकेर पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । मर्जपश्चात् लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ ।

लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा‍। मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्ष चयन गर्नेछ । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *