अविरल वर्षासँगै बाढी बस्तीमा पस्दा कैलालीमा ५०० घर प्रभावित
धनगढी । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी भएका छन् ।
धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घर धुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले विभिन्न नदीको पानी बस्तीमा पस्दा ६ वटा स्थानीय तहमा मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेको जानकारी दिए । जोशीका अनुसार खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ नम्बर वडामा गरेर साढे दुई सय घर डुबानमा परेका छन् ।
यस्तै कैलारी गाउँपालिका–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा डेढ सय घर धुरी र जोशीपुर नगरपालिकाका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घर धुरी प्रभावित भएका प्रहरीले जनाएको छ । गोदावरी नगरपालिकाको खैराना खोलाको बाढीले एउटा पसल डुबेको छ भने चुरे गाउँपालिका–५ को गोपालेमा पहिरोले अवरुद्ध भएको बाटो खुलेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रभावित घर परिवारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

















