स्मार्ट लाइसेन्स कार्डको छपाइ सुरु
काठमाडौं । जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ । मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच गरी परीक्षण सफल भएपछि वितरण गरिने उनले बताए ।
जर्मनी नै पठाएर परीक्षण हुन्छ । यो सँगै लामो समयदेखि रोकिएको स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको छ । १२ लाख कार्ड विभागसँग छ । तर, १६ लाखभन्दा बढी चालकलाई स्मार्ट लाइसेन्स कार्ड दिन बाँकी रहेको विभागले जनाएको छ । जर्मन कम्पनीले बनाएको कार्ड छाप्न विभागसँग मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरिएको मेसिन छ । कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन ।














