महासंघ कब्जा गर्ने घृष्ठता !

नेपाल पत्रकार महासंघ यतिबेला डरलाग्दो संकटमा फसेको छ । पत्रकारहरुको छाता संगठनको रुपमा रहैँदै आएको यो महासंघमा भएको अनुचित दलीय हस्तक्षेप नै संकटको मुल कारण हो । अहिले पत्रकार महासंघले पत्रकार र पत्रपत्रिकाको हितमाभन्दा दलीय स्वार्थमा बढी ध्यान दिन्छ । पार्टीहरुमा भातृ संगठन मार्फत निर्देशित भएर त्यसले मातृसंस्थाको स्वार्थ अनुरुप कार्य गर्ने भएकाले मिडिया र मिडियाकर्मीको हित त सस्तो लोकप्रियता आर्जन गर्ने उपाय मात्र भएको छ । पत्रकार महासंघलाई सीमित घेरामा राख्ने र त्यस मार्फत आफ्नो निहित स्वार्थसिद्धि गर्ने र दलका नेताहरुलाई चाकडी गरेर नियुक्ति हात पार्ने खेल लामो कालदेखि चल्दै आएको छ । त्यस अतिरिक्त महासंघको केन्द्रिय समिति एउटा राम्रो प्रोजेक्ट भएको एजीओमा रुपान्तरण भएको छ ।

पार्टीको प्रवक्ता र प्रजीओको भुमिका एकसाथ निभाउन केही अप्ठेरो परेपनि महासंघले आजसम्म त्यो भुमिका पुरा गर्दै आएको छ । विगतमा शाखाहरुको निर्वाचनमा शाखा सदस्यले मतदान गर्ने र केन्द्रीय समितिको चुनावमा चाँहि प्रतिनिधिहरु अर्थात परिषद सदस्यले मतदान गरी नेतृत्व चुन्ने परम्परा थियो । अघिल्लो पटकदेखि यसको संरचना संघीय भयो र शाखाको साथमा प्रदेश समिति र केन्द्रीय समितिको व्यवस्था भयो । अहिले शाखा , प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गर्ने र सम्पुर्ण सदस्यले मतदान गर्ने व्यवस्था गरिएको छ । अब महासंघलाई कब्जा गर्न नयाँ रणनीति तय गरिएको छ । महासंघको शुद्धीकरण भनेर आफुलाई मतदान नगर्ने सदस्यको सदस्यता खोस्ने र अयोग्य लडाकु, पार्टीका कोर कार्यकर्ता भर्ति गर्ने नीति लिएको छ । त्यही कारणले जेठ २६ गतेका लागि निर्धारण गरिएको निर्वाचनको प्रकृया आजसम्म पनि प्रारम्भ हुन सकेको छैन । महासंघलाई कब्जा गर्ने होडवाजीमा अहिले माओवादी अगाडि देखिएको छ । यद्यपि , एमाले र कांग्रेस आदर्शलाई अपनाएर बसेका छन भन्ने होइन । महासंघमा एकछत्र बर्चश्व बनाउन यी तीनैवटा दल अनैतिक होडवाजीमा लागेका छन । फलस्वरुप बर्तमान नेतृत्वको वैधानिकता समाप्त भई सक्दासम्म पनि चुनाव अनिश्चित नै छ । चुनाव हुन्छ कि हुँदैन, कहिले हुन्छ र कसरी हुन्छ भन्ने अन्योल अझै समाप्त भएको छैन । माओवादी पक्षले महासंघको चुनाव हुनै नदिने र सरकारले बर्तमान नेतृत्वलाई हटाएर आफ्नो अनुकुल चल्ने तदर्थ समिति निर्माण गर्ने कसरत गरिरहेको र पुर्व एकजना अध्यक्ष त्यही खालको धम्की दिएर आफ्नो प्रस्ताव हुवहु मनाउन लागि परेको चर्चा बारम्बार भइरहेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कब्जा गरे जस्तै गरी महासंघलाई माओवादीले कब्जा गर्ने दुस्सहस थालेको छ । निर्वाचनलाई टारेर तदर्थ समिति बनाउने प्रपञ्च त्यसैको नाङगो रुप हो । तर त्यति सजिलै पत्रकार महासंघलाई एउटा कुनै दलले कब्जा गर्ने सम्भव भने छैन । यसको अन्तर्राष्ट्रिय सम्बन्ध र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको यो युगमा पत्रकारको साझा संस्थालाई एउटा गुठले आफ्नो कब्जामा लिनु निकै कठिन कार्य हो । तसर्थ यो लफडा र व्यक्ति व्यक्तिले आफ्नो स्वार्थको दुन्दुभी बजाउन छाडेर शिघ्र नै समस्या समस्या समाधान गरी निर्वाचन सम्पन्न गराउनुमा मात्र महासंघ र बर्तमान तेतृत्वको पनि हितमा छ । पार्टीको व्यल्याकमेलिङमा नेतृत्व फस्नु दुभाग्र्यपुर्ण हुन्छ । त्यो हरकत बर्तमान नेतृत्वको लागि पनि त्यति नै घातक छ, जति लामो इतिहास भएको संस्था महासंघको लागि छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *