सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको ९८ करोड लगानीमा लोअर हेवाखोला जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं । पाँच खपन जलविद्युत प्रालिले निर्माण गर्न लागेको लोअर हेवाखोला जलविद्युत आयोजना (क्षमता ६.८४८ मेगावाट) को वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजना निर्माणका लागि दुई बैंक सिद्धार्थ बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संयुक्त रूपमा ९८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। आइतबार औपचारिक रूपमा सम्पन्न गरिएको सम्झौताअनुसार सिद्धार्थ बैंकले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन्। कुल १४० करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको बाँकी रकम प्रवर्द्धक कम्पनीले स्व–पूँजी र अन्य स्रोतबाट जुटाउने तयारी गरेको छ।

कम्पनीका अध्यक्ष वसन्त कुमार तामाङका अनुसार, आयोजनाको इलेक्ट्रो–मेकानिकल पक्ष अष्ट्रियाको प्रख्यात कम्पनी जेपर्ट ग्रुपको प्रविधिक सहकार्यमा अघि बढाइनेछ। सम्झौताअनुसार जेपर्ट ग्रुपले एक वर्षभित्र आवश्यक उपकरण आपूर्ति र जडानको सम्पूर्ण काम सम्पन्न गर्ने जिम्मेवारी लिनेछ। नेपालका विभिन्न जलविद्युत आयोजनामा दीर्घ अनुभव हासिल गरेको जेपर्ट ग्रुपले अहिलेसम्म १९ वटा आयोजनामा प्रविधिक सहकार्य गरिसकेको छ, जसमा ९ आयोजना सञ्चालनमा आइसकेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *