प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो । पाँच सदस्यीय अध्यक्ष मण्डलमा साविक नेसपा(नयाँ शक्ति)का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराँती, रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियार, पूर्वमाओवादीका नेता अशोक जैसवाल र जेनजी अगुवा ओजस्वी भट्टराई रहेका छन् । अध्यक्षता गर्ने कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुने नेता अनिल शर्माले जानकारी दिए । ‘अहिले अध्यक्ष मण्डलमा रहने सदस्य मात्र टुङ्गो लागेको छ । पाँच जनामध्ये एकले नेतृत्व गर्ने हो । कति कति समयमा नेतृत्व फेरबदल हुने भन्नेबारे केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुन्छ । प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने शर्माले जानकारी दिए ।
















