पोखरेललाई ओलीका चार जवाफ
काठमाडौं । नेकपा (एमाले) ११औँ महाधिवेशन अबको १३औँ दिनमा महाधिवेशन हुँदै छ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । मंसिर २७–२९ गते हुने महाधिवेशनको लोगो सार्वजनिक गर्न आइतबार पार्टी कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीहरू उपस्थित थिए । पोखरेलले अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेका छन् । पोखरेलसहितका नेताले उठाउँदै आएका केही प्रश्नको जवाफ सँगै रहेका नेताहरूलाई दिए ।
विधानमा सामान्य संशोधनबाहेक केही हुँदैन
अध्यक्षको उमेदवारी घोषणा गरेका पोखरेलले भदौ २०–२२ मा भएको महाधिवेशनपछि परिस्थिति फेरिएको भन्दै त्यसको समीक्षा, छलफल हुनुपर्ने कुरा उठाउँदै आएका छन् । पोखरेललाई साथ दिएका नेताहरू ज्ञवाली, शाक्य, सुरेन्द्र पाण्डे, योेगेश भट्टराई, गोकर्ण विष्टले समीक्षाको माग गरिरहेका छन् । तर, ओलीले राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव विधान महाधिवेशनबाट पारित भएको भन्दै अब महाधिवेशनमा त्यसबारे छलफल नहुने बताए । तीन महिनाअगाडि मात्रै इतिहास, हाम्रा काम, हाम्रा सफलताहरू, कमीकमजोरी, सबै समीक्षा गरेका छौँ । राजनीतिक प्रतिवेदन प्रस्ताव पारित गरिसकेका छौँ,” ओलीले भने, “संगठनको अवस्था, परिस्थिति के छ, कसो छ छलफल भइसकेको छ । अहिले त्यसमाथि, संगठनात्मक नीतिमा कुनै परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । हालै महाधिवेशनले गरेको छ । ओलीले राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिरहनुपर्ने अवस्था नरहेको बताए । विधानमा समान्यबाहेक केही संशोधन नहुने जवाफ उनको छ । “विधानमा धेरै ठूलो हेरफेर गर्नुपर्ने छैन । केही सानोतिनो गर्नुपर्ने रहेछ भने महाधिवेशनले छोटो विधिबाट गर्नेछ, त्यसमा लामो छलफल हुँदैन । छोटो विधिबाट हामी टुंग्याउन सक्छौँ,” ओलीले भने, “महाधिवेशनले ती संगठनात्मक संरचना, नीतिलाई अघि बढाउने नेतृत्व निर्माणको काम गर्नेछ । त्यसमा कुनै प्रकारको असहमति राख्नुपर्ने, कुनै ठाउँ पनि छैन आवश्यकता पनि छैन ।
पुनर्गठन र हस्तान्तरणबारे ओली
जेनजी आन्दोलनपछि संस्थापनइतर नेताहरूले पार्टी पुनर्गठनको विषय जोडतोडका साथ उठाउँदै आएका छन् । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा पनि माग गरेका थिए । ओलीले महाधिवेशन पुनर्गठन, पुनर्संरचनाको थलो भएको बताए । “एकताको महाधिवेशनको रूपमा अघि बढाउँछौँ । महाधिवेशन आवश्यक नै पुनर्गठन, पुनर्संरचनाको थलो हो नै । एमाले गतिशील पार्टी भएको भन्दै अधिवेशन हुँदा पदाधिकारी हेरफेर हुने गरेको उनको भनाइ छ । पार्टी पुनर्गठन र हस्तान्तरणको माग स्वाभाविक भएको प्रतिक्रिया दिए । “मागको स्टाइलले पनि विगतमा कुरा उठ्यो– पुनर्गठन, परिवर्तन, हस्तान्तरण हुनुपर्छ । यो यत्रो जोडदार ढंगले भनिरहनुपर्ने कुरा नै होइन । एकदम स्वाभाविक कुरा हो हस्तान्तरण पनि हुन्छ, पुस्तान्तरण हुन्छ नै,” ओलीले भने । ओलीले थपे, “हस्तान्तरण पनि हुन्छ । पुस्तान्तरण पनि हुन्छ । हुनैपर्छ, नगरौँ भने पनि हुन्छ । पुस्तान्तरण, हस्तान्तरण आवश्यकताअनुसार हुन्छ नै ।”
विधान महाधिवेशन र महाधिवेशन एकैपटक गर्ने कि नगर्ने ?
ओलीले विधान महाधिवेशन र महाधिवेशन छुट्टाछुट्टै गर्ने कि नगर्ने भन्ने सोच्नुपर्ने बेला आएको संकेत गरे । महाधिवेशन फरक फरक गर्नुपर्छ भनेर विगतमा सोचे पनि विधानमा एउटा कुरा पारित हुने र महाधिवेशनमा पुग्दा फेरबदल हुने गरेको सुनाए । विधान महाधिवेशन र महाधिवेशनको अन्तर धेरै राख्न नहुने रहेछ भन्ने निष्कर्षमा ओली देखिए । “छुट्टै गर्ने कि नगर्ने भनेर आगामी दिनका लागि सोच्नुपर्ने हो कि ? ओलीले भने ।
ओलीको जवाफ– महाधिवेशनमा मतदान हुन्छ
एमाले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने माग संस्थापन इतरको छ । महाधिवेशनमा मतदान हुने कि नहुने भन्ने विभिन्न आशंका उब्जिरहेको छ । ओलीले महाधिवेशनमा मतदान हुने बताए । महाधिवेशनमा मतदान हुन्छ । कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर यसरी सर्वसहमतिका नाममा कसैलाई अघि आउन नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने । त्यस्तो खालको कुरा हुँदै होइन,” ओलीले भने, “रोक्ने कुनै काम हुँदैन । प्रतिस्पर्धा खुल्ला हुन्छ । ओलीले अध्यक्षका हैसियतले सहमतिको साथ जाने प्रस्ताव राख्ने सुनाए । उनले एकताबद्ध भएर जान आग्रह गरे । एकअर्कामा टीकाटिप्पणी, आलोचना गर्ने, होच्याउने त्यस्तो नगरौँ । र, परस्परमा सम्मानको कल्चर स्थापना गरौँ,” ओलीले भने, “अस्वस्थ खालको प्रतिस्पर्धा नहोस्, नगरौँ । ओलीले प्रतिस्पर्धालाई नराम्रो नमान्ने बताए । “केन्द्रीय कमिटीमा थुप्रै साथीहरूलाई इच्छा हुन सक्छ । त्यसमा रोक्न सकिन्नँ । सार्वभौम कार्यकर्ताका सार्वभौम प्रतिनिधि ।
















