ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, १९ प्रभावकारी सीएसआर कार्यक्रम सञ्चालन गरिने
काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले विगतका वर्षहरूमा झैं यसपटक पनि वार्षिकोत्सवलाई सामाजिक योगदानसँग जोड्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र मानवीय सहयोगलाई प्राथमिकतामा राखेको हो। गत वर्ष १८औँ वार्षिकोत्सवमा बैंकले देशभर करिब २१ हजार विरुवा रोपण गर्दै वातावरण संरक्षणमा योगदान पुर्याएको थियो। यस वर्ष भने बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गर्दै अझ व्यापक कार्यक्रमहरू अघि सारेको छ।
१९औँ वार्षिकोत्सवका प्रमुख कार्यक्रममध्ये ‘ग्लोबल आइएमई स्वस्थ नारी पहल’ उल्लेखनीय छ। यस अन्तर्गत सातै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ, जहाँ स्त्रीरोग परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण गरिनेछ। प्रारम्भिक चरणमा पहिचान भएका गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार पनि दोस्रो चरणमा गरिने बैंकले जनाएको छ। त्यसैगरी, सात प्रदेशका सात स्थानमा आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर, १,५०० विद्यार्थीको निःशुल्क आँखाजाँच तथा चश्मा वितरण, गरिब समुदाय लक्षित स्वास्थ्य शिविर र जटिल रोगका बिरामीका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिनेछ।
शिक्षा क्षेत्रमा बैंकले कक्षा ६ देखि १२ सम्म अध्ययनरत गरिब तथा जेहेन्दार छात्रालाई छात्रवृत्ति, दुर्गम विद्यालयमा पुस्तकालय निर्माण, विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गर्नेछ। साथै, उच्च शिक्षामा एमफिल तथा पीएचडी अध्ययनरत विद्यार्थीलाई अनुसन्धान सहयोग पनि प्रदान गरिनेछ। वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रम, वृक्षारोपण, फोहोर व्यवस्थापन तालिम, रक्तदान, अटिजमसम्बन्धी चेतनामूलक कार्यक्रम तथा उद्यमशाला कार्यक्रममार्फत आयआर्जन अभिवृद्धि गर्ने योजना पनि समावेश छन्। बैंकका ३५२ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै डिजिटल ठगी न्यूनीकरणमा सचेतना फैलाइने बैंकले जनाएको छ। यी पहलले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको छ।
















