माछापुच्छ्रे बैंकले शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने
काठमाण्डौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै बैंकले उक्त काउन्टर सञ्चालन गर्ने तयारी गरेको हो। बैंक र शिक्षण अस्पतालबीच काउन्टर सञ्चालनका लागि सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ। सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. सुवास प्रसाद आचार्य र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउनेछ। यसअघि अस्पताल परिसरमा बैंकले एटीएम सेवा प्रदान गर्दै आएको थियो। अब नयाँ एक्सटेन्सन काउन्टरमार्फत बिरामीहरू उपचारका क्रममा बिल भुक्तानी, रेमिट्यान्स सेवा र विभिन्न बैंकिङ कारोबार सहज रूपमा सञ्चालन गर्न सक्नेछन्। माछापुच्छ्रे बैंकले सरकारी तथा सार्वजनिक निकायलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने अभियानमा यो पहललाई थप महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ। बैंकले यस काउन्टरमार्फत सेवाग्राही र अस्पतालका आर्थिक कारोबारलाई डिजिटलाइज गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ, जसले सेवाग्राहीको समय र प्रयास बचत गर्नेछ।
















