२८ वर्षीय युवकसँग किन बढ्यो फेसबुकका मालिक जुकरबर्गको टकराव
अमेरिकाको सिलिकन भ्यालीमा अहिले एउटा गम्भीर प्रश्नले चर्चा पाइरहेको छ( के मेटा कम्पनी भित्र आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको विषयलाई लिएर आन्तरिक द्वन्द्व सुरु भइसकेको हो ? यो चर्चाको केन्द्रमा छन्, कम्पनीका सिइओ मार्क जुकरबर्ग र हालै नियुक्त गरिएका एआई विभागका प्रमुख एलेक्जेन्डर वाङबीचको बढ्दो तनाव । बाहिरबाट झ्वाट्ट हेर्दा यो केवल एउटा व्यवस्थापकीय पुनर्संरचनाको खबरजस्तो देखिन्छ । तर भित्री यथार्थले मेटा कम्पनीको एआई भविष्य र कर्पोरेट संस्कृतिमाथि नै गहिरो प्रश्न उठाइरहेको विश्लेषण गरिएको छ । गत वर्ष जुकरबर्गले एआईको क्षेत्रमा ठूलो जोखिम मोले । उनले २८ वर्षे एलेक्जेन्डर वाङलाई मेटा कम्पनीको नयाँ सुपरइन्टेलिजेन्स ल्याब्सको नेतृत्व सुम्पिए । यसै क्रममा मेटाले वाङद्वारा स्थापित स्केल एआईमा करिब १४ अर्ब डलर लगानी गर्यो । यो सम्झौता आधुनिक एआई इतिहासकै सबैभन्दा ठूलो सम्झौतामध्ये एक मानिन्छ। सन् २०२५ मा उनै वाङ मेटा कम्पनीमा सबैभन्दा धेरै पारिश्रमिक पाउने कर्मचारी बने र कम्पनीको एआई रणनीतिका प्रमुख अनुहारका रूपमा स्थापित भए । तर मेटाको एआई यात्रालाई तीव्र बनाउने कदम मानिएको वाङको आगमन र एआईमा गरिएको अर्बौँको लगानी अहिले कम्पनीभित्रै तनावको कारण बन्दै गएको देखिन्छ । समाचार अनुसार मेटाको एआई प्रमुख एलेक्जेन्डर वाङ हाल कम्पनीका सिइओ मार्क जुकरबर्गको कार्यशैलीबाट असन्तुष्ट छन् । जुकरबर्गको अत्यधिक नियन्त्रण र माइक्रो म्यानेजमेन्टले आफ्नो कामको स्वतन्त्रतालाई कुण्ठित पारिरहेको गुनासो उनको छ । उता मेटा भित्रका केही वरिष्ठ कर्मचारीहरू भने वाङ उमेर र अनुभवका हिसाबले अझै कनिष्ठ भएकाले यति ठूलो एआई विभागको नेतृत्व सुम्पनु उपयुक्त नभएको तर्क गर्छन्। तर वाङ आफैंमा एक असाधारण व्यक्ति हुन् । उनले कम उमेरमै स्केल एआईको स्थापना गरे जुन आज विश्वकै अग्रणी डेटा लेबलिङ कम्पनीमध्ये एक हो । यही क्षमताका कारण मेटाले उनलाई ठूलो प्याकेजसहित आफ्नो एआई मिसनको नेतृत्व सुम्पिएको थियो। वाङको नेतृत्वबाट एआईको क्षेत्रमा ओपन एआई, गुगल तथा माइक्रोसफ्टसँगको प्रतिस्पर्धामा आफूलाई अग्रपंक्तिमा राख्ने योजना मेटाको थियो । तर यसले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको विश्लेषण गरिन्छ । पछिल्लो समयमा मेटा कम्पनीले व्यवस्थापनभित्र नयाँ रिपोर्टिङ संरचना लागू गरेपछि धेरै टिमहरूको प्रत्यक्ष रिपोर्टिङ लाइन परिवर्तन भयो । यही प्रक्रियामा वाङलाई जुकरबर्गको एआई दूरदृष्टि अनुसार पूर्णरूपमा कार्यसञ्चालनगत स्वतन्त्रता नदिइएको कुरा सतहमा आयो । अर्कोतर्फ जुकरबर्ग स्वयम्ले नै एआई प्रोडक्ट रोडम्यापमा गहन रूपमा संलग्न हुँदै हरेक काममा माइक्रो–म्यानेजमेन्ट गरिरहेको आरोप लाग्ने गरेको छ । जसका कारण कम्पनीभित्र टकरावको अवस्था सिर्जना भएको बताइन्छ। वाङ र जुकरबर्गबीचको पछिल्लो टकरावलाई प्रविधि उद्योगले केवल व्यक्तित्व वा इगोको द्वन्दको रूपमा मात्र हेरेको छैन, यो वास्तवमा दुई फरक सोचको टकराव हो । जुकरबर्गको ‘प्रोडक्ट–फर्स्ट’ र छिटो डेलिभरी मोडेल भर्सेस वाङको ‘रिसर्च–फर्स्ट’ र फाउन्डेसन मोडेल केन्द्रित दृष्टिकोणबीच संघर्ष चलेको बताइन्छ । यस परिस्थितिले मेटा भित्रका धेरै एआई अनुसन्धानकर्तालाई दिग्भ्रमित पारेको छ । यसैबीच मेटा कम्पनीका केही उच्चपदस्थ एआई इन्जिनियर र अनुसन्धानकर्ताहरूले कम्पनी छोडिरहेको खबर पनि बाहिर आएको छ । भित्री स्रोतहरूका अनुसार धेरै वरिष्ठ कर्मचारीहरू आफ्ना भूमिका, प्राथमिकता र भविष्यलाई लिएर अनिश्चितताको महसुस गरिरहेका छन् । प्रविधि उद्योगमा यस्तो अवस्थालाई ‘कल्चर क्र्याक’ भनिन्छ । यसमा अत्यधिक महत्वाकांक्षा र व्यवहारिक यथार्थबीच दूरी बढ्न थाल्छ । मेटाका लागि यो समय अत्यन्त संवेदनशील छ । मेटाभर्समा यसअघि गरिएको ठूलो लगानीले अपेक्षित प्रतिफल दिन सकेको छैन । अब एआई नै कम्पनीको भविष्यको सबैभन्दा ठूलो सम्भावना बनेको छ । यस्तो अवस्थामा एआई विभागको नेतृत्वमै आन्तरिक कलह हुनु लगानीकर्ता र कर्मचारी दुवैका लागि चिन्ताजनक विषय हो। रोचक कुरा के छ भने, जुकरबर्गले पछिल्ला महिनाहरूमा मेटालाई आधिकारिक रूपमा ‘एआई फर्स्ट कम्पनी’ घोषणा गरिसकेका छन् । लियाम ‘ीबिmब’ मोडेललाई ओपन सोर्स गर्ने होस् वा मेटाको आफ्नै आधारभूत मोडेल विकास गर्ने होस् सबैतिर एआई नै मेटाको नयाँ पहिचान बन्दै गएको छ । तर यदि एआई टिमभित्रै स्पष्टता र समन्वय कायम हुन सकेन भने मेटाभर्सझैँ यो रणनीति पनि जोखिममा पर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
















