कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने
काठमाण्डौं । नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। जनकपुरमा उक्त सभा हुनेछ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिए। त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय हुनेछ। कांग्रेसले चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ। सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानेछन्। १२ गते उनीहरू सर्लाही पुग्नेछन्। सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्। विशेष महाधिवेशनबाट पुस ३० गते गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति आएको थियो। उक्त कार्यसमितिका पदाधिकारीले आज पदबहाली गर्ने कार्यक्रम छ। आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। यो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति थापालाई तोक्ने निर्णय गर्नेछ।
















