बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिएपछि साइबर ब्यूरोको फन्दामा

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै सार्वजनिक नैतिकता र शिष्टाचार विपरीतका अभिव्यक्ति दिएको आरोपमा एक व्यक्तिलाई उपस्थित गराई प्रारम्भिक सोधपुछ गरिएको हो। जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं। ११ घर भई हाल नागरिक बचाउ महा–अभियान नेपाल ऋणी एसोसिएसनका केन्द्रीय संयोजकका रूपमा क्रियाशील ४४ वर्षीय देवी प्रसाद संग्रौला उक्त प्रकरणमा संलग्न रहेको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार संग्रौलाले सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कुटपिट गर्नुपर्ने, भण्डारखालजस्तो काण्ड मच्चाउनुपर्ने भन्ने आशयका अभिव्यक्ति दिएका थिए, जुन सार्वजनिक नैतिकता, शिष्टाचार तथा कानुनी व्यवस्थाविपरीत रहेको निष्कर्ष निकालिएको छ।

यस सम्बन्धमा निजलाई ब्यूरोमा बोलाई सोधपुछ गर्दा उनले कानुनी राज्यमा कानुनको उल्लङ्घन गरी बैंकविरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै अबका दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्ने, समाज र राज्यलाई असर गर्ने कुनै पनि अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सोधपुछका क्रममा संग्रौलाले नेपाल सरकारसँग एकपटकका लागि क्षमा याचना गर्न चाहेको उल्लेख गर्दै सोही आशयको लिखित कागजसमेत बुझाएको साइबर ब्यूरोले जानकारी दिएको छ। उक्त घटनासम्बन्धी अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको ब्यूरोको भनाइ छ। साथै, साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत कानुन विपरीतका अभिव्यक्ति दिने वा श्रव्य–दृश्य सामग्रीहरू प्रसारण गर्ने गतिविधिमाथि निरन्तर निगरानी भइरहेको जनाएको छ। यस्ता गतिविधिमा कसैको संलग्नता पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *