जेन्जीले निकास देलान् त !

जेन्जीको नाममा उत्पात मच्चाएर गरिन लागेको निर्वाचनको नामाङ्कन पत्र दर्ता कार्यक्रम तुलनात्मक रूपले शान्तिपूर्ण नै भयो । यद्यपि एकाध स्थानमा रास्वपा नामका लठैतहरूले हुलदङ्गा गर्न प्रयास भने नगरेका होइनन् । यो निर्वाचनमा देखिएको परिदृश्यले केही गम्भीर सङ्केत दिएको छ । जेन्जी आतङ्कपछि र आतङ्क कै अवधिमा पनि प्रस्ट रूपले मुलुकको सार्वभौमसत्तामाथि डरलाग्दो सङ्कट आउने सङ्केत देखिएको हो । खास गरेर वीरेन्द्र अन्तर्राष्ट्रिय सभा भवनमाथि भएको सुनियोजित आतङ्ककारी हमला र भदौ २३ गतेको षडयन्त्रले नै अब मुलुकमा कुनै डरलाग्दो अनहोनी हुने वाला छ भने आभास भइसकेको थियो । भदौ २४ गतेको नरसंहार र योजनाबद्ध विनाशपछि नेपालमाथि अप्रत्यक्ष रूपले विदेशी हस्तक्षेप सफल भइसकेकै हो । २४ भदौको आतङ्कलाई निकास दिने नाममा भएको संविधानमाथिको खेलबाड अप्रत्याशित रूपले घटित घटना थियो भन्ने आधार भेटिँदैन । सुशीला कार्की नाम कि बुख्याचा खडा गरेर मच्चाइएको ताण्डव नृत्यले सचेत नेपालीलाई बहुत चिन्तित तुल्याएको छ । पछिल्ला घटनाले नेपालमाथि निकट भविष्य मै डरलाग्दो षडयन्त्रपूर्ण घटना हुने आशङ्का बढेर गएको छ । विदेशी षडयन्त्रको चङ्गुलमा फस्दै गएको मुलुकलाई निकास दिने एक मात्र उपाय नेपालमा सुशासन,स्थायित्व र गतिशीलता प्रमुख विकल्प हो । चुनावबाट नयाँ सरकार गठन गरेर मात्र त्यो काम हुने कुरामा पनि शङ्का छैन । तर जेन्जी आतङ्कपछि बढेको अन्योलले मुलुक तत्कालै विघटन हुने हो कि भन्ने खतरा बढेर गएको थियो ।
चुनावी सरकारको रूपमा सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई चुनाव गराउने अथोरिटी दिइयो । तर चुनाव भइहाल्छ भन्ने कुरामा कसैले विश्वास गर्न सकेका थिएनन् । बारम्बार उत्पन्न हुने द्वन्द्वात्मक घटना सरकारी निकायमा समेत अनावश्यक हस्तक्षेप र चौतर्फी असुरक्षाको अवस्थाले गर्दा आजित जनता पुराना दल र नेताप्रति जनतामा रहेको आक्रोशलाई मत्थर पारेर लान नसक्नुकै कारण अहिले सस्तो लोकप्रियताको पछाडि दौडनेहरू विकल्पको रूपमा अगाडी सारिएका छन् । राजनीतिक पार्टीको आकार लिई नसकेका र भल्गरिजमका पक्षपातीहरूलाई विकल्पको रूपमा खडा गरिनुले नै नेपालको भविष्य सङ्कटमा छ भन्ने प्रस्ट हुन्छ । यस पटकको निर्वाचनले राजनीतिक क्षेत्रका तमाम फोहोर मैलालाई बढारेर यो क्षेत्रलाई क्लिन गर्छ भन्ने जनअपेक्षा भने पूरा नहुने देखिएको छ । यद्यपि, राजनीतिक दलहरूले टिकट दिँदा युवा पुस्तालाई प्राथमिकतामा राखेका छन् । तर, काँग्रेस,एमाले र माओवादीलाई समेत कर्नर पार्ने गरी उदाएको भनिएको नयाँ दल रास्वपाले त्यो सम्भावनालाई निष्फल तुल्याइदिएको छ । चुनावमा ठुला दलले टिकट बेच्छन् भन्ने कुरा सामान्य जस्तै थियो । यस पटक नेपाली काँग्रेस समेत ठुला दलले त्यो परम्परा त्यागे पनि रास्वपाले महँगो मूल्यमा टिकट बेच्ने,विपक्षीलाई स्वस्थ आलोचना गर्ने कुरालाई बिर्सिएर अश्लील र भद्दा गाली गलौज गर्ने,अनावश्यक भिडन्तको स्थिति सिर्जना गर्न खोज्ने गरेर स्थिति झन् उत्तेजक र अराजक बनाउने प्रयास गरिरहेको छ । त्यसमा काठमाण्डौका पूर्व मेयर बालेन्द्र साह र रवि लामिछानेको नै बढी भूमिका छ ।
नेपाली काँग्रेस र एमाले सुध्रन खोजिरहेको बेला नयाँ उदाएका भनिएका दलहरू समस्याको रूपमा देखिएका छन् । मुख्य नेता नै कुनै न कुनै गैर कानुनी धन्धामा संलग्न भएका नयाँ भनिने दलले सोसल मिडियालाई दुरुपयोग गरेर नेपालमा अन्योल सिर्जना गराउने र विदेशीलाई यहाँ निम्त्याएर मुलुकको लगाम समात्न लाउने प्रयास भइरहेको छ । चुनाव हुनेमा लगभग पक्का भए पनि त्यसको परिणामले मात्र मुलुकको भविष्यको निर्धारण गर्न सक्छ । पुराना दल काँग्रेस एमाले भित्रैबाट विकल्प खोजियो भने सुधारको गुन्जाइस रहन सक्छ । नेपालीको सार्वभौमिकता सुरक्षित रहन सक्छ तर नयाँ भनिएको र आपराधिक चरित्रलाई हिरोइजम बनाउनेहरू सफल भए भने त्यो सम्भावना पनि टर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *