सहकारी पत्रकार समाजमा खतिवडाको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं । सहकारी क्षेत्रमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरूको हकहित, क्षमता अभिवृद्धि र पेशागत विकासलाई केन्द्रमा राख्दै क्रियाशील रहेको नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले नयाँ नेतृत्व पाएको छ। सीजेएनको १५औँ वार्षिक साधारण सभाबाट अर्जुन खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा बस्नेत र कोषाध्यक्षमा प्रविण राउन चयन भएका छन्। यस्तै, इश्वर ढुङ्गेल र श्रीराम दाहाल सदस्यको जिम्मेवारीमा रहेका छन्। नेतृत्वमा निरन्तरतासँगै नयाँ सोच र ऊर्जाको समिश्रण देखिने गरी टिम बनेको सहभागीहरूको प्रतिक्रिया छ। अध्यक्ष खतिवडा यसअघिको कार्यसमितिमा उपाध्यक्ष, उपाध्यक्ष दुलाल सदस्य र सचिव खड्का कोषाध्यक्षको भूमिकामा थिए।
प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बिष्णु गिरीले नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए। निर्वाचन समितिका अधिकृतद्वय राजेन्द्रसिंह नेगी र शिवराज योगीको समेत उपस्थिति रहेको थियो। सभामा सीजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्व रहँदा संस्थापक अध्यक्ष यादव हुमागाई, पूर्व अध्यक्षहरू डिल्ली सापकोटा र खिला दाहाल अतिथिका रूपमा सहभागी थिए। यसअघि संस्थाका सचिव सन्तोष रोकायाले सञ्चालन गरेको साधारण सभाले अध्यक्ष काजी श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव खड्काको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो। नव निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हालेको छ। हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष काजी श्रेष्ठसहित सचिव सन्तोष रोकाया, सह–सचिव सुधा देवकोटा र सदस्य बलराम बुढाथोकीको उपस्थिति रहेको थियो। नयाँ नेतृत्वसँगै सहकारी पत्रकारितामा व्यावसायिकता, एकता र प्रभावकारिताको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
















