प्रहरी अस्पतालको मेडिकल सामग्री खरिद अनियमितता प्रतिवेदन गृहले पठायो अख्तियारमा

काठमाडौं । नेपाल प्रहरी अस्पतालले खरिद गरेको मेडिकल सामग्रीमा भएको अनियमितताबारेको आफ्नो छानबिन प्रतिवेदन गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुन्धान आयोगमा पठाएको छ । आर्थिक अनियमितताको आशंकामा मन्त्रालयले गएको पुस ९ गते उपसचिव विष्णुप्रसाद भुसालको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिमा मन्त्रालयका शाखा अधिकृत संगम सापकोटा र लेखा अधिकृृत सरोज सुवेदी सदस्य थिए । यसबारेमा अख्तियारले छुट्टै अनुसन्धान गरिरहेको थियो । अस्पतालको मेडिकल सामग्री खरिदमा मिलेमतोमा भ्रष्टाचार गरिएको जिकिरसहित गृह र अख्तियारमा दर्जनौँ उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो । गृहका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले प्रहरी अस्पतालको अनियमितताबारेको छानबिन प्रतिवेदन अख्तियारमा पठाइएको जानकारी दिए । उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै ढंगले छानबिन गरेको होला । मन्त्रालयले पनि छानबिन गरेको हो । हाम्रो छानबिन प्रतिवेदन पनि अख्तियारलाई पठाएका छौँ । गृहले छानबिनका क्रममा प्रहरी अस्पतालका मेडिकल निर्देशक एवं अतिरिक्त महानिरीक्षक (एआईजी) सुन्दरप्रसाद होजुसित समेत सोधपुछ गरेको थियो । मन्त्रालयका अनुसार, अस्पतालले मोडुलर अपरेसन थिएटर निर्माण, प्रयोग नहुने मेडिकल सामान, एक्सरे मेसिनलगायत सामग्री खरिदका विषयमा अतियमितता गरिएको उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको थियो । मन्त्रालय स्रोतका अनुसार, अपरेसन थिएटर निर्माणका निम्ति आफूनिकटलाई ठेक्का दिने गरी ‘स्पेसिफिकेसन’ तथा सर्त एउटै कम्पनीलाई मात्र मिल्ले गरी बोलपत्र आह्वान गरिएको भेटिएको छ ।

अपरेसन थिएटर निर्माण नहुँदै भुक्तानी समेत दिइएको पाइएको छ । अपरेसन थिएटरबाहेक म्याक्सिस इन्कर्पोरेसन प्रालिमार्फत खरिद गरिएका मेडिकल सामग्री समेत कामविहीन भएर थन्किएको देखिएको छ । अधिकांश औषधि ‘डेट एक्सपायर’नजिकका खरिद गरी अपचलन गर्ने गरिएको छानबिनका क्रममा भेटिएको छ । मेडिकल डाइरेक्टर एवं एआईजी होजुले गृहको टोलीले खरिद प्रक्रियासित सम्बन्धित सबै कागजपत्र लिएको पुष्टि गरे । फार्मेसी, एक्सरे मेसिन खरिद प्रक्रिया र थिएटर निर्माणबारेका कागजपत्र लिएर जानुभएको हो । कसरी छानबिन हुँदै छ भन्ने बाँकी त थाहा भएन । एआईजी होजुले मन्त्रालय र अख्तियारले छानबिन गरिरहेको खरिद प्रक्रियामा आफू सहभागी नभएको जिकिर गरे । उनले भने, यी सामग्री खरिद प्रक्रिया मेरा पालामा पनि भएको होइन । मभन्दा पहिलाका प्रमुखका पालामा भएको हो । खोइ, कसरी खरिद गुर्नभयो ! उनले एक्सरे मेसिन खरिद गर्र्दाको तीन करोड रुपैयाँ, औषधि किन्दा र थिएटरका विषयमा छानबिन गरिएको पनि बताए । होजुअघि प्रहरी अस्पतालको मेडिकल डाइरेक्टरमा एआईजी आशा सिंह थिइन् । सिंहले ०८१ साउनमा अवकाश पाएकी थिइन् । औषधि खरिदका विषयमा सिंह प्रमुख रहेकै बेला पनि अख्तियारले पटक–पटक छानबिन गरेको थियो । सिंह प्रमुख हु्ँदा दोस्रो तहमा थिए, होजु । खरिद प्रक्रियामा उनी समेत सामेल थिए । त्यसैले होजु पनि छानबिनमा तानिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *