यो निर्वाचनले पनि दलहरूलाई सुधार्ने सङ्केत देखिएन
काठमाडौ । फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको नामाङकनपत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनमा उम्मेदवार बन्न टिकट लिने प्रक्रिया विगतको जस्तै अपारदर्शी नै रहयो । ठुला दलले मात्र होइन नयाँ र पारदर्शिताको नारा लगाउने दलको टिकट वितरण प्रक्रिया झन् जटिल र अपारदर्शी देखियो । नेपाली काँग्रेसमा देखिएको विग्रहले चुनावी कार्यक्रमलाई नै प्रभावित गर्ने खतरा टरे पनि पार्टीभित्रको समस्याकै कारण अझै समस्या पर्ने सम्भावना कायमै छ । टिकट दिने क्रममा पनि पुरानो गुटगत रोगबाट काँग्रेस मुक्त हुन सकेन । नेकपा एमाले जेन्जी आंतकपछि आइलागेको सङ्कटबाट अझै पुर्णरुपले मुक्त हुन सकेको छैन । त्यो पार्टीमा भरखर सम्पन्न पार्टी महाधिवेशनमा देखिएको विग्रहको अवस्था यो चुनावका लागि टिकट वितरणमा प्रस्टै देखियो । पार्टी अध्यक्ष खडप्रसाद ओलीलाई सहयोग नगर्नेहरूमाथि एमालेले टिकट वितरणको क्रममा न्याय गर्न नसकेको कारण चुनावी परिणामलाई नै असर पुग्छ कि भनेर एमाले कार्यकर्ताहरू नै चिन्तित देखिएका छन् । टिकट वितरणमा योगेश भटराई, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ,कर्ण थापा समेतका स्थापित नेताहरूमाथि न्याय नभएको महसुस कार्यकर्ताहरूले नै गरिरहेका छन् । महाधिवेशनमा फरक मत राख्नु, नेतृत्वको लागि भएको चुनावमा फरक भूमिकामा देखिनुलाई पूर्वाग्रही भएर हेर्ने परम्परा एमालेमा अहिले झन् मजवुद भएको देखिन्छ । यही रोग नेपाली कांग्रसमा पनि छ । काँग्रेसमा अहिले मात्र होइन लामो काल खण्ड देखी यो समस्यामा छ । संवत् २०१५ सालको पहिलो आम चुनावमा पनि काँग्रेसमा यो समस्या थियो । २०४६ सालपछि नेपाली काँग्रेसमा कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले सभापतिको हैसियतले आमनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बन्न टिकट वितरण गरे । त्यसरी वितरण गरिएका टिकटमाथि न्याय भयो, उचितै भयो, ठिकै छ भनेर स्वीकार गर्ने स्थिति रहेन । सधैँ आफन्त, आफ्नो लबीको आफ्नो मान्छे भनेर टिकट दिइयो । यो मान्छे, यो चुनाव क्षेत्रका लागी योग्य छ, यो काँग्रेस हो, कुन समूह र गुटको हो भनेर नहेरी टिकट दिनुपर्छ भन्ने कहिल्यै ठानिएन । दश वर्ष जङ्गलराज चलाएर आएको माओवादीमा त झन् २० वर्षसम्म केही व्यक्ति र परिवारको एकलौटी नै थियो। त्यो रोगबाट प्रचण्डहरू आजसम्म पनि मुक्त हुन सकेका छैनन् । जबकि अहिले पार्टी एकताको प्रक्रियाबाट गुज्रिएर प्रचण्डहरू माओवादीबाट कोशौं टाढा पुगिसकेका छन् ।पुराना दलमा बेथिति छ,भेदभाव छ,भ्रष्टाचार छ ,न्याय र पारदर्शिताको अभाव छ भनेर गाली गर्दै, न्याय पारदर्शिता र भ्रष्टाचारमुक्त देशको नारा लगाउँदै गैर राजनीतिक बाटोबाट राजनीतिमा प्रवेश गरी एकै पटक राज्यसत्ता कब्जा गर्ने चेष्टा गर्ने कथित नयाँहरूमा त झन् हरिबिजोग नै देखियो । तर नयाँ भनिएका मध्येको रास्वपा टिकटको बेचबिखन, खरिदबिक्री र अकुत रकम असुलीमा अनेकौँ काण्ड बाहिरिए । रास्वपाका नेताहरू नै मिडियामा पैसा नहुनेहरू राजनीतिमा आए भ्रष्टाचार बढ्छ, त्यही भएर गरिबहरू राजनीतिमा आउनु हुँदैन भनेर खुलम खुल्ला अभिव्यक्ति दिदैं हिँडे । सत्तामा पुग्न हतार गर्दा रास्वपाले अनेक विकृतिलाई भित्र्यायो । कति भने नयाँ जति मिल्नुपर्छ भन्ने मान्यता बनाएर राजनीतिलाई सिद्धान्तहीन सौदाबाजीको अखडा बनाउन पुग्यो । नयाँको नाममा उज्यालो नेपालका कुलमान घिसिङलाई गरेको व्यवहार राजनीतिक नैतिकताको दृष्टिले हेर्दा लाजमर्दो खालको थियो । समानुपातिक, समावेशिता आदिको दृष्टिले त रवि बालेनको क्रियाकलाप निकृष्टताको उदाहरण नै बन्यो । प्राइमरी इलेक्सनको नाटक रचेर देखाएको तमासाले यो दलको वर्तमान अवस्था र भविष्यको रेखाचित्र स्पष्ट रूपले देखाइदिएको छ । अपराध कर्ममा संलग्न रहेकाहरू,चरित्रहीन,गैर कानुनी धन्दामा लागेर अकुत सम्पत्ति कमाएका र राजनीतिमा प्रवेश गरेर त्यसलाई चोख्याउन चाहनेहरूको भीड अहिले रास्वपा देखिन्छ । रास्वपा अहिले अपराधीहरूको आश्रय स्थल जस्तो बनेको छ । बहुविवाह गर्ने, सहकारी र बैङ्क ठग्ने,विदेशी एजेन्ट भएर नेपालको राजसत्तासम्म पहुँच बनाउन चाहने, देश छाडेर जाने, विदेशमा गएर देशलाई गाली गर्ने अनि फर्केर देशमै आएर आफू नै अब्बल देशभक्त हुँ भन्ने ढोँग गर्नेहरूको शिविर भएको छ रास्वपा ।
अहिले रास्वपाले चुनावमा बहुमत ल्याउने र राजधानीमा अनेक कुकर्म गरेर बदनाम भएका पूर्व मेयर बालेन्द्र साह सुँडीलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडी सारेको छ । कानुन मिचेर मनपरी गर्ने, अदालतको आदेशलाई मान्दिन भनेर घोषणा गर्ने, गरिखाने वर्गमाथि सधैँ निर्मम बनेका र तिनलाई लखेटी लखेटी समाप्त पार्ने कार्यको नेतृत्व गरेका साह अहिले झापा पुगेर आफूलाई सफेद पोशमा देखाउने कुचेष्टा गरिराखेका छन् । नयाँ भनेपछि राम्रो हुन्छ भन्ने भ्रम दिएर र सामाजिक सञ्जाल मार्फत गालीगलौजका साम्राज्य फैलाएर युवालाई आकर्षण दिन सफल त्यो जमातको पनि यस पटक धोती खुस्किएको छ । टिकट वितरण प्रक्रियामा अपनाएको अपारदर्शी व्यवहार, पैसाको लेनदेन, कार्यकर्ताको चाहना अनुसार सिफारिसमा परेकालाई उपेक्षा गर्दै चर्चामा रहेका अनुहार खोज्ने कामले रास्वपा चुनावअघि नै समाप्त हुने सङ्केत देखाएको छ । चलचित्र क्षेत्र, नाटक ,कथित अभियन्ता, युटुवर आदिलाई राजनीतिमा ल्याउन त सजिलो छ तर तिनीहरूसँग न ढंग छ, न ज्ञान छ न त अनुभव नै ।छाडा बोलेर, अरू सबैलाई मनपरी बोलेर राजनीति गर्न र सफल हुन सम्भव नै छैन । यो कुरा अहिले पनि रास्वपाले बुझ्न सकेको छैन । यस्ता विदेशी एजेन्ट, देश घाती, मातृभूमिलाई गाली गर्नेहरूको जमात रास्वपालाई बढाइ चढाइ गरेको देख्दा भने नेपालको भविष्य देखेर चिन्तित गराउँछ । पुराना राजनीतिक दलका नेताहरूको चरित्र र व्यवहारले नै त्यस्ताहरूले स्थान पाएका हुन । साना दलभित्रका नयाँ र पुराना दुवै पुस्ता यसमा दोषी छन् । अहिले पुरानो पुस्ता विस्तारै विस्थापित हुने क्रममा रहेको देखिए पनि नयाँ पुस्ता त्यो रोगबाट मुक्त छैन । राजनीतिक दलहरू सुध्रिए भने अहिलेको समस्या सहजै हल हुन्छ । दलहरू चेतेर सुध्रिनतिर लाग्नु आवश्यक छ ।
















