कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि : उपसभापति शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै कांग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गरे । उनले सबै कुराको आत्मालोचना गरेर कांग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताए ।
उपसभापति शर्माले सदभाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताए । उनले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सदभाव भएको बताए । उनले निर्वाचनमा हारजित कुनै नौलो कुरा नभएको बताए । उनले भने, ‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उम्मेदवारहरु थुप्रै हुनुहुन्छ । नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो । कांग्रेसले सारा विषयलाई डकुमेण्टमा लिएर रियलाइज गरी क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएको छ । अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो । अहिले समाजलाई सदभाव सबैभन्दा बढी चाहिएको छ । हामी कसले जिताउँला आफ्नो ठाउँमा छ । जित्ने हार्ने चलिरहन्छ ।’ उपसभापति शर्माले कांग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताए ।
















