नबिल इन्भेष्टमेन्ट १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ। सोही अवसरमा संस्थाले आज माघ २३ गते काठमाडौंको नक्सालस्थित नारायणचौर प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको यस संस्थाले वि.सं. २०६६ सालदेखि निरन्तर व्यावसायिक र ग्राहक–केन्द्रित सेवा प्रदान गर्दै आएको छ। डेढ दशकको यो यात्रामा नबिल इन्भेष्टमेन्टले व्यवसायिकता, सुशासन र पारदर्शिताका माध्यमबाट लगानीकर्ता र सरोकारवालाहरूको विश्वास जित्न सफल भएको छ। बदलिँदो वित्तीय बजारको मागअनुसार आफूलाई परिमार्जन गर्दै आएको यस संस्थाले दीर्घकालीन लगानी र परामर्शका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।

हाल यसले मर्चेन्ट बैंकिङअन्तर्गत निष्कासन तथा बिक्री प्रबन्ध, डिपी सेवा, सेयर रजिस्ट्रार र प्रत्याभूति जस्ता सेवाहरू प्रदान गरिरहेको छ। संस्थाले इन्भेस्टमेन्ट बैंकिङतर्फ लगानी व्यवस्थापन, सामूहिक लगानी कोष र विशिष्ट संस्थागत परामर्श सेवालाई पनि उत्तिकै प्रभावकारी रूपमा अघि बढाएको छ। यसअन्तर्गत कम्पनीहरूको संरचना हेरफेर, व्यावसायिक मूल्याङ्कन, व्यवसायिक योजना निर्माण, लोन सिन्डिकेसन, सम्पत्ति व्यवस्थापन र मर्जर तथा एक्विजिसन सम्बन्धी परामर्श दिँदै आइएको छ। साथै, संस्थाले निकट भविष्यमै ‘प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ। १५औँ वर्षको उपलब्धिलाई गौरवको रूपमा मनाउँदै संस्थाले आगामी दिनमा नवीनतम सोच, प्रविधिमैत्री सेवा र सुदृढ जोखिम व्यवस्थापनका साथ पुँजी बजारको विकासमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *