निर्वाचन अगाडि कांग्रेसको केन्द्रीय र कार्यसम्पादन समितिलाई पूर्णता नदिइने
काठमाडौँ । गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चुनिएका गगन थापाले पार्टीको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिलाई प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पूर्णता दिने भएका छन् । १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र डा. शेखर कोइरालाको असहमतिबिच थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । कांग्रेस विधानमा सभापतिले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न सक्ने व्यवस्था छ । त्यो व्यवस्थाबमोजिम केन्द्रीय कार्यसमितिलाई सभापति थापाले निर्वाचनपछि मात्रै सदस्य मनोनीत गरेर पूर्णता दिने उपसभापति पुष्पा भुसालले जानकारी दिइन् । ‘केन्द्रीय समितिले पूर्णता पाएको छैन ।
निर्वाचनपश्चात् पनि नेपाली कांग्रेसको काँधमा ठुलो जिम्मेवारी हुन्छ । हामी बहुमतको सरकार बनाउने भनेका छौँ । सरकार बन्दै गर्दाखेरि पार्टीको भूमिका त्यही समाप्त हुँदैन । सरकार राम्रो ढङ्गबाट चलाउने, सङ्गठन मजबुत बनाउने जिम्मेवारी पार्टीको काँधमा रहन्छ, उपसभापति भुसालले भनिन्, ‘१५ औँ महाधिवेशनको तयारीको काम प्रारम्भ हुन्छ । एकातिर सरकारलाई हेर्ने काम अर्कोतिर १५ औँ महाधिवेशनको तयारीको काम गर्नुपर्ने हुन्छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि कार्यसमितिलाई पूर्णता दिने, कार्यसम्पादनमा अनुभवी, पार्टीमा योगदान गर्नुभएका नेतृत्वहरूलाई अवसर दिने काम गर्छौँ । उपसभापति भुसालले कार्यसम्पादन समितिमा पनि निर्वाचन अगाडि पदेन सदस्यहरू मात्रै रहने जानकारी दिइन् ।‘निर्वाचन अगाडि हामीले अहिले जति पदाधिकारी हुनुहुन्छ, उहाँहरूलाई कार्यसम्पादन समितिमा राखेर काम गर्छौँ । त्यो बाहेकका सदस्य निर्वाचनपछि मात्रै आपसी छलफलपछि मात्र मनोनीत हुन्छन् ।
















