शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट

मस्को । रुस र युक्रेनबिच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फिर्ता पठाएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्वदेश फर्किएका १५७ युक्रेनीमध्ये ७ जना सर्वसाधारण छन् भने बाँकी सशस्त्र बल, नेशनल गार्ड र सीमा सुरक्षा बलका सैनिक हुन्। फर्किएकामध्ये अधिकांश सन् २०२२ देखि रुसी कब्जामा थिए। राष्ट्रपति जेलेन्स्कीले रुसी जेलमा रहेका प्रत्येक युक्रेनीलाई घर फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन्। यता, रुसी रक्षा मन्त्रालयले पनि आफ्ना १५७ सैनिकका साथै युक्रेनी कब्जामा रहेका तीन रुसी नागरिकलाई मुक्त गरिएको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सुरु भएको यो वार्तामा विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले नेतृत्व गरिरहेका छन्।

वार्ताका क्रममा मुख्यगरी क्षेत्रीय अखण्डता र भविष्यमा हुन सक्ने रुसी आक्रमण रोक्नका लागि युक्रेनले मागेको सुरक्षा ग्यारेन्टीका विषयमा छलफल केन्द्रित भएको छ। रुसले युक्रेनको पूर्वी औद्योगिक क्षेत्र डोनबासको बाँकी भूभाग सुम्पिनुपर्ने माग गरिरहेको छ, जुन युक्रेनका लागि सबैभन्दा कठिन विषय बनेको छ। विशेष दूत विट्कोफले वार्तालाई ‘विस्तृत र फलदायी भने पनि अझै धेरै काम बाँकी रहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्कीले पनि वार्ता सहज नभएको उल्लेख गर्दै आफूले ‘छिटो नतिजा चाहेको धारणा राखेका छन्। रुसले युक्रेनको ऊर्जा क्षेत्रमा भीषण आक्रमण जारी राख्दा लाखौँ मानिस चिसोमा बिजुली, पानी र तापक्रमविहीन अवस्थामा रहेकै बेला यो वार्ता र कैदीबन्दीको साटासाट भएको हो। यसले चार वर्षदेखि जारी युद्ध अन्त्यको दिशामा एउटा सानो तर सकारात्मक संकेत दिएको छ।
बीबीसी

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *