कांग्रेसले लागु गर्यो ‘५–५० रणनीति’ , निर्वाचनमा क्रियाशील सदस्यलाई ‘सबैभन्दा ठूलो’ जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यलाई सबैभन्दा ठूलो जिम्मेवारी तोक्दै परिपत्र जारी गरेको छ । आफ्नो पक्षमा परिणाम हासिल गर्न क्रियाशील सदस्यहरूलाई केन्द्रमा राख्दै कांग्रेसले ५–५० रणनीतिसहित परिपत्र जारी गरेको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका तर्फबाट गरिएको परिपत्रमा प्रत्येक क्रियाशील सदस्यले १० परिवारलाई ‘कन्भिन्स’ गर्ने जिम्मेवारी तोकिएको छ । त्यसमा समूहगत रूपमा क्रियाशील सदस्यले काम गरी पाँचजनाले ५० परिवारलाई ‘कन्भिन्स’ गर्नुपर्ने छ । “पार्टीका क्रियाशील सदस्यहरूले ५,५० को रणनीतिअनुरूप चुनावी अभियानमा कार्य गर्नुहुनेछ । अर्थात्, आफ्नो भूगोलको ५० घरपरिवारसँग समूह बनाएर पाँच क्रियाशील सदस्य निरन्तर सम्पर्कमा रहनुहुनेछ,” परिपत्रमा भनिएको छ, “स्थानीय वडा टोलमा पछिल्लो समय सक्रियतापूर्वक अघि आउनु भएका साथीहरू समेतको सहभागिता रहने त्यस्तो टिमले जिम्मेवारीको ५० घरमा प्रचार सामग्री पुर्याउने र मतका लागि प्रेरित गर्ने कार्य गर्नेछ ।” त्यसबाहेक ‘मतदाता शिक्षा’ दलहरूको पनि दायित्व भएको भन्दै स्थानीय प्रचार सँगसँगै मतदाता शिक्षाको जिम्मेवारी पनि बाँडफाँट गरेर सञ्चालन गर्ने उल्लेख छ । यस्तै, भातृ तथा शुभेच्छुक संस्थालाई डिजिटल प्रचारका लागि परिपत्र गरेको छ । भ्रातृ,शुभेच्छुक र जिल्ला सम्पर्क समितिले निर्देशिकाको भाव अनुरुपका कार्यसम्पादन आ–आफ्नो संस्थाको जिम्मेवारी क्षेत्रमा गर्नेरगराउने छन्,” परिपत्रमा भनिएको छ, आ–आफ्नो संगठनको वडा तहसम्म रहेका पदाधिकारी र सदस्यलाई मूलत ‘डिजिटल मुभ’ मा प्रेरित गर्नेछन् । ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियानमा जिल्ला सम्पर्क समिति केन्द्रित हुनेछन् । कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी र सदस्यलाई आ–आफ्नो निर्वाचनकेन्द्रित भएर चुनाव जिताउने भूमिका तोकिदिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले समग्रमा नेपालभरका लागि तथा आफू व्यक्तिगत रूपले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रका लागि समन्वय र प्रचारको कार्य गरिरहँदा विदेशमा रहेका बढीभन्दा बढी नेपालीको सम्पर्कमा पुग्नेछन्,” परिपत्रमा भनिएको छ । चुनावी मुद्दाका रूपमा मानव बेचबिखन, जातीय विभेद, बालश्रम, घरेलु हिंसा, लागुऔषध दुर्व्यसन लगायतका सामाजिक विसंगति अन्त्यको संकल्प अघि सारेको कांग्रेसले यी मुद्दालाई सर्वपक्षीय दायित्वका रूपमा सम्प्रेषण गर्ने उल्लेख छ । चुनावी प्रचार अभियानमा बालबालिका प्रयोग कानुन र संस्कार दुवैको विपरीत हुने भन्दै पार्टीका सबै तहलाई सजग गराएको छ । ‘श्रमिक र कृषकको सम्मान, अन्ततः सबैको सम्मान’ भन्ने नारालाई व्यवहारमा देखाउँदै मत जित्नुअघि मन जित्ने कांग्रेसको अठोट छ ।
आगामी संसद्ले संविधानमा आवश्यक संशोधन गर्ने भन्दै संविधानलाई अझ समयानुकूल र बलियो बनाउन नेपाली कांग्रेसले नेतृत्व गर्नेगरी मत माग्न पनि परिपत्रमा भनिएको छ । कांग्रेसले प्रचार अभियानका लागि स्वःस्फूर्त आर्थिक सहयोग स्वीकार्न भन्दै अनावश्यक दबाब दिएर सहयोग जुटाउने काम नगर्न पनि सतर्क गराएको छ । पूर्वशिक्षक, पूर्वसैनिक, पूर्वप्रहरी, पूर्वकर्मचारीलगायत अवकाश प्राप्त सबैको जीवनलाई उर्जाशील बनाएर समाजका लागि सही उपयोगमा ल्याउने कांग्रेसको नीति रहेको भन्दै निर्वाचन प्रचार अभियानमा देशव्यापी रूपमा यो नेटवर्कलाई व्यापक सम्पर्कमा ल्याउन, जिम्मेवारीमा समेट्न र पार्टीको विजय अभियानमा सक्रिय बनाउन निर्वाचन क्षेत्रीय समितिलाई निर्देशन दिएको छ । विदेशबाट अध्ययन वा रोजगारीबाट फर्किएकाहरूलाई समेट्ने कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागका नीति अनुरुप समेट्न पनि परिपत्रमार्फत निर्देशन दिएको छ ।
















