आगो नै पहिले लागेको हो

आवधिक निर्वाचन लोकतन्त्रको नवीकरणको कडी हो । कोही पनि लोकतन्त्रवादी ब्यक्ति र लोकतान्त्रिक दल चुनावसँग भाग्नु आवश्यक छैन । तर बारम्बार हुने अनावश्यक चुनावले लोकतान्त्रिक व्यवस्था मात्र होइन सिङ्गो राष्ट्र सङ्कटमा पार्ने गरी गरिने चुनाव सर्वनाशको कारण बन्न सक्छ । संवैधानिक बाटो बाटै हुने मध्यावधि चुनावलाई अन्यथा मान्नु जरुरी हुँदैन । कहिले कहीँ मध्यावधि निर्वाचन आवश्यक पनि पर्न सक्छ । तर, संविधानलाई कुल्चिएर राष्ट्रलाई आगो लगाएर गरिएको चुनाव सही अर्थमा लोकतान्त्रिक अभ्यासको परम्परा होइन । राष्ट्रलाई विदेशी स्वार्थको इशारामा चलाउन गरिने षडयन्त्रको गोटी बनेर आवश्यक नै नरहेको चुनावमा देशलाई होम्नु चाहिँ अपराध नै हो । यस पटक त्यस्तै अपराध भएको छ । विदेशी षडयन्त्रकारीसँग मिलेर राष्ट्रलाई तहसनहस गर्ने गुरुयोजना मुताबिक रचिएको कथित जेन्जी आन्दोलनका सूत्र धारहरू विदेशी हुन र तिनका गोटीलाई अहिले वैधानिकता दिएर नेपाली स्वतन्त्रता खोस्ने प्रयास भइरहेको छ । त्यसका लागी अनेक प्रपञ्च रच्ने कार्य भइरहेको छ । नेपाल इतिहासमै कहिल्यै पराधीनता नभोगेको मुलुक हो । तर, प्रत्यक्ष अप्रत्यक्ष दबाब भने सधैँ झेलिरहेको हो । आज त नेपालको सार्वभौमसत्ता नै सङ्कटमा परेको छ । स्वतन्त्रता र सार्वभौमसत्ता सङ्कटमा पर्दै जाँदा नेपालले प्यालेस्टाइनको नियति बेहोर्नु नपर्ला भन्न सकिदैंन । नेपाललाई शान्त र संवृद्ध बन्न नदिने षडयन्त्रका गोटीहरू आज सफेद पोश बनेर जनताको बिचमा छन् । र,यो देश र यहाँका जनताका लागी जीवन बलिदान गर्नेहरूलाई खलनायक बनाइएको छ । यो काम पनि विदेशी डिजाइन मै भइरहेको छ । फागुन २१ गते हुने भनिएको चुनावको सबै काम पर्दाभित्र गुप्त र अँध्यारो कोठामा सम्पन्न भइसकेको छ । अब त्यसलाई वैधानिकता प्रदान गर्न मात्र बाँकी छ । त्यो षडयन्त्र भदौ २२,२३ र २४ गते कै निरन्तरता हो । जेन्जी आन्दोलनको पृष्ठभूमि तयार पार्न एकाध वर्ष नै लागेको रहस्य कुनै दिन अवश्य खुल्ने छ । र,त्यसका गोटीको रूपमा रहेका रवि,बालेन ,प्रचण्ड र लिङदेनहरुको भूमिका के कति छ भन्ने पनि सतहमा आउँछ नै । अहिले देश कब्जा गर्न चाहनेहरूले गरेको नौटङ्की र, रमाइरहेका नेपाली जनताले कस्तो सङ्कट भोग्नुपर्छ भन्ने पूवभाष समेत भएको छैन । भदौ २४ गतेको विध्वंसलाई सामान्य र स्वाभाविक ठान्नेहरूले पहिले गोली चलेको हो ,त्यसपछि आगो लाग्यो भन्दैछन । त्यो सत्य होइन । पहिले पर्खाल भत्काउन थालियो,आगो झोस्न थालियो ,त्यसपछि मात्र गोली चलेको हो ।
गोली चलेपछि मात्र देश कब्जाको योजना निर्माण भयो भन्नु जनताका आँखामा धुलो छर्नु मात्र हो । देश कब्जा गरेर विदेशीलाई बुझाउने पात्र पनि बहुरङ्गी नै छन् । काहीँ फ्री तिब्बत भन्ने , काहीँ इयु,कोही युएस यूथ काउन्सिल र कोही के । तर सबैको उद्देश्य समान नेपाललाई सर्वनाशको अवस्थामा पुर्‍याउने त्यसका लागि प्रयोग भएका पात्रको त कुरै नगरौँ,कोही ट्यापे, कोही ठग, कोही गरिबलाई राजनीतिमा आउन दिनुहुँदैन भन्ने,कोही बलात्कार बढाउने अभियानका अभियन्ता,कोही राज्य शक्ति प्रयोग गरेर जनताको जिउधनमाथि धावा बोल्ने । यी सबैलाई नयाँ र नयाँ भएकाले देश बनाउँछन् भन्ने विश्वास दिलाइदैछ । तर आफ्नो जीवन , श्रीसम्पत्ति ,घरपरिवार सबैलाई भन्दा बढी स्वतन्त्रता , राष्ट्र र जनतालाई ठुलो ठानेर त्यसकै लागि लड्नमा सारा जीवन खर्च गर्नेहरूलाई आज अनुचित रूपले लाञ्छित गरिएको छ । तिनलाई पुरानाको ट्याग लगाइएको छ । यद्यपि,नेपाल र नेपालीका लागी समर्पित भनिएका नेता र दलहरूको भूमिका पनि कमजोर देखियो । तिनले देश र जनतालाई न्याय गर्न सकेनन् भन्ने अनुभव जनताले गरे । जनता र नेताबिच सार्थक रूपले संवाद भएन । कैयौँ उचनिचका घटना देखिए । नेताहरूले त्यसलाई समीक्षा गर्ने र सुधार्ने प्रयास नै गरेनन् । जनता नाराज हुनुको कारण त्यही हो । अहिले त्यही कमजोरीमा टेकेर षडयन्त्रकारीहरू नाटक गरिरहेका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले जनतालाई यो कुरा बुझाउन सक्नु पर्छ । दल र नेताले जिम्मेवारी बोध गर्ने, सन्तुलित ढङ्गले अभिव्यक्ति दिने र सङ्कटमा फस्दै गएको राष्ट्रको उद्धार गर्न उदारतापूर्वक पहल गर्न जरुरी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *