ललितपुरमा ट्रक दुर्घटना, चारजनाको मृत्यु
काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक, सहचालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिकाका गणेश खड्का, सोही ठाउँका गणेश थापा र बूढानीलकण्ठ नगरपालिकाका ज्योती कार्की छन् । अर्का एकजनाको पहिचान हुन बाँकी छ । ट्रकमा चारजना रहेकोमा सबैको मृत्यु भएको हो, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले भने, दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
















