आसन, भाषण र शासनमा सुधार गर्न १,२,३,४ लागु गर्छौं : शर्मा
काठमाण्डौं । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् । चुनावी प्रचारको पहिलो दिन लमजुङको जिल्ला कार्यालय उद्घाटनपछि शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताए । बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ, शर्माले भने, कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३, ४ को नीति संविधानमा अंकित गर्नेछौँ । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी रहन पाउने छैनन् । कांग्रेसले विशेष महाधिवेशनबाट एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाउने नीति पारित गरेको छ ।
चुनावी मैदानमा जस्तोसुकै आश्वासन दिने परम्पराले जनतामा निराशा बढाएको शर्माको भनाइ छ । सम्भव विषय मात्र राख्न उमेदवारलाई उनले आग्रह गरे । चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणापत्रहरूमार्फत नगरौँ,” शर्माले भने । कांग्रेसले शासकीय सुधारका केस्रा(केस्रा केलाएको भन्दै आवश्यक सुधारका खाका पनि तयार भएको उनले बताए । विगतका ककमजोरी स्वीकार गर्दै सुधारेर लान कांग्रेस सुधारिएर आएको उनको भनाइ छ । देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ, त्यसको केस्राकेस्रा केलाएका छौँ हामीले । जेनजी विद्रोहको भावनाबमोजीम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउनेछौँ, शर्माले भने,देश जान्दछ कांग्रेस बदलिएको छ र यो पनि देश जान्दछ– जो बदलिन सक्छ उसैले बदल्न सक्छ । शर्माले कांग्रेस लमजुङले निर्माण गरेको बीपी कोइरालाको शालिक पनि अनावरण गरेका थिए ।
















