बालेनको नागरिकतामा थर विवाद,नागरिकतामा मेयर हुनुअघि (साह) मेयर भएपछि (शाह)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन् । उनको नागरिकतामा पहिले बालेन्द्र साह रहेकोमा पछि बालेन्द्र शाह बनाएको भन्दै प्रश्न उठेको हो । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुनुअघि उनको नागरिकतामा साह रहेको थर पछि परिवर्तन गरिएको पाइएको छ । महोत्तरीबाट २०६३ सालमा लिएको नागरिकतामा बालेन्द्र साह उल्लेख छ । यो नागरिकता २०६३ साल पुस ९ गते तत्कालीन प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाले जारी गरेका थिए । तर काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि २०७९ साल असार १९ गते लिएको नागरिकताको प्रतिलिपिमा भने अर्को ‘साह’को ठाउँमा ‘शाह’ लेखेको पाइएको छ । मधेसको महोत्तरी जिल्लाको एकडारामा जन्मिएका शाहको परिवार काठमाडौंमा बसाइ सरेको थियो । बसाइँसराइ प्रमाणपत्रमा पनि बालेनका बुवाले आफ्नो पारिवारिक विवरणमा सबैको थर साह नै लेखेको पाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ९ को कार्यालयले दिएको बसाइँसराइको प्रमाणपत्रमा पनि बालेन परिवारमा सबैको थरमा मधेसमा लेखिने साह नै उल्लेख गरिएको छ । यति मात्रै होइन, बालेनका स्वर्गीय बुवा रामनारायण साहले प्रतिलिपि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा नागरिकता फर्ममा पनि उनको नाम पुरानै नागरिकता अनुसार रामनारायण साह नेपाली नै लेखिएको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७९ मंसिर ७ गते जारी गरेको नागरिकतामा उनको थर परिवर्तन गरिएको छ । जसमा रामनारायण साह नेपालीबाट उनी ‘रामनारायण शाह’ भएका छन । यही मितिमा जारी नागरिकताको प्रतिलिपिमा पनि आमाको नाममा ध्रुवदेवी शाह लेखिएको छ । यद्यपि, त्यसअघिका नागरिकतामा भने ध्रुवदेवी साह उल्लेख छ । बालेनको परिवारमा सबैको नागरिकतामा अहिले थर परिवर्तन गरेर शाह लेखिएको भएपनि उनकै दाइको नागरिकतामा भने त्यो परिवर्तन गरिएको छैन । महोत्तरीबाट जारी गरिएको नागरिकतामा लेखिएको कौशलेन्द्र साह नै अहिले पनि उनको नागरिकता तथा नाता प्रमाणित गरिएको प्रमाणपत्रमा उल्लेख छ । काठमाडौं बसाइँ सरेपछि सबैले नयाँ प्रतिलिपि लिँदा नागरिकताको थरमा परिवर्तन गरेपनि दाइ कौशलेन्द्रले भने आफ्नो पुरानै नागरिकता अनुसार २०७८ सालको मंसिर १५ मा कैशलेन्द्र साहको नामबाट नागरिकताको प्रतिलिपि लिएको पाइएको छ ।
सुरुको नागरिकतामा के लेखिएको थियो ?
बालेन्द्र शाहका बुवा रामनारायण साह हुन् । साहले महोत्तरीको एकडराबाट २०३९ साउन २७ गते नागरिकता प्रमाणपत्र लिएको पाइएको छ । नागरिकतामा उनको नाम रामनारायण साह नेपाली उल्लेख छ । जसमा साहको बुवाको नाम मुनिलाल साह लेखिएको छ । यसैगरी दाजु कौशलेन्द्र, आमा ध्रुवदेवी र बालेनको नागरिकतामा पनि सुरुमा साह नै उल्लेख रहेको प्राप्त काजगातबाट पुष्टि हुन्छ । यसरी थरमा ‘साह नेपाली’ लेखिएको नागरिकता २०७६ सालको कात्तिक ८ गते काठमाडौं महानगरपालिकाको वडा नम्बर–९ को कार्यालयले दिएको बसाइँसराइको प्रमाणपत्रमा उल्लेख छ । तर त्यसपछि लिइएको नागरिकताको प्रतिलिपिमा भने बालेनका दाजु कौशलेन्द्र बाहेक सबैको थर परिवर्तन गरिएको पाइएको छ ।
के छ कानुनी प्रावधान ?
नागरिकता ऐन २०६३ को दफा १२ मा कुनैपनि नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाण पत्र रद्द गर्ने व्यवस्था लेखिएको छ । यसैको दफा १७ मा विवरण सच्याउन पाउने नागरिकता ऐनमा व्यवस्था गरिएको छ । जहाँ भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर वा उमेर वा शैक्षिक योग्यताको प्रमाण फरक पर्न गई प्रमाणपत्रमा सानातिना त्रुटि भई सो विवरण सच्याउन चाहेमा आवश्यक तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्ने हुन्छ ।‘ तर यसको स्पष्टीकरणमा भनिएको छ, यस उपदफाको प्रयोजनका लागि सानातिना त्रुटि भन्नाले नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरण जस्तै( कुमारी, देवी, बहादुर, प्रसाद जस्ता बढी राखिएको वा छुटेको वा आकार, इकारमा फरक परेको वा यस्तै अन्य सानातिना त्रुटिलाई जनाउनेछ । दफा १२ अनुसार बालेन र उनका आमाबुवाको हकमा यो कुरा देखिँदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *