बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनको कारबाही गर्ने कांग्रेसको तयारी
काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने व्यक्ति, त्यस्ता व्यक्तिका प्रस्तावक र समर्थकलाई पनि अनुशासनको कारबाही गर्ने विषयमा छलफल अघि बढाएको हो । पार्टी कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कपिलवस्तु लगायतका केही जिल्लाबाट अनुशासनको कारबाहीका लागि सिफारिस आएको र सोही विषयमा छलफल भएको हो । अब बस्ने बैठकले के कस्तो कारबाही गर्ने भन्ने निर्णय लिने उनको भनाइ छ । समिति संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले समितिको कार्यविधि २०८२ समेत पारित गरेको छ । त्यही कार्यविधिअनुसार अर्को बैठकबाट उनीहरूलाई अनुशासनको कारबाही गर्ने तयारी कांग्रेसको छ । बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावकरसमर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा समेत छलफल भएको पार्टी मुख्य सचिव दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कांग्रेसबाट कपिलवस्तु–१, सप्तरी–४ र पर्सा ४ मा बागी उम्मेदवार छन् ।
















