धादिङ दुर्घटना, बसमा ४६ यात्रु रहेको अनुमान, डुंगाबाट उद्धार

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ । सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ । घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए । घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।

हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोली पनि छ । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ । मृतक र घाइतेहरुको सनाखत हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *