नेशनल लाइफको ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमसहित सम्पन्न

काठमाण्डौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। समापन समारोह काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजना गरिएको थियो। समारोहमा कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन योगदान दिने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरिन्। उनले सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने लक्ष्यअनुसार प्रविधिमा दक्ष जनशक्ति विकासलाई प्राथमिकता दिइएको उल्लेख गरिन्। यसै सन्दर्भमा कम्पनीका प्रशासनिक कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विस्तृत तालिम प्रदान गरिएको र आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने जानकारी दिइन्। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा अन्य सरोकारवालाको साथ र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको बताए। उनले नियामक निकाय तथा सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता व्यक्त गरे। वार्षिकोत्सवका अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरमा शैक्षिक सामग्री वितरण, बालबालिकालाई भोजन तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ। देशभरका प्रदेश तथा शाखा कार्यालयहरूले पनि वृद्धाश्रम, बालकल्याण संस्था र मानव सेवा आश्रममा सहयोगात्मक कार्यक्रम आयोजना गरेका छन्। कर्मचारीको शारीरिक तथा मानसिक सुदृढीकरणका लागि अन्तर–कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाल प्रतियोगिता सम्पन्न गरिएको थियो। समापन समारोहमा विभिन्न खेलका विजेता तथा रक्तदातालाई पदक, प्रमाणपत्र र सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *