म सरकारमा हुँदा देश कुद्छ : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन् । झापामा आयोजित कोसी प्रदेशस्तरीय ‘नेशनल भोलेन्टियर फोर्सको कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको विकासप्रेमी छवि आम नागरिकलाई जानकारी रहेको बताए । ‘भिजनविहीन राजनीतिले देश विकास हुन नसक्ने उनको भनाइ छ । ओलीले नेशनल भोलेन्टियर फोर्सको आवश्यकता धेरै रहेको दाबी गरे । यो फोर्स एउटा संगठित, अनुशासित र देश तथा जनताप्रति प्रतिबद्ध शक्ति हो । यसले देशलाई माया गर्छ, शान्ति स्थापनाका लागि प्रयास गर्छ र सुशासनका लागि लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । आफू सरकारमा हुँदा देश कुद्ने र हट्नासाथ ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको भनाइ छ । म सरकारको नेतृत्वमा हुँदा देश कुद्छ । तर, मलाई हटाउने बित्तिकै देश ड्राइभरबिनाको गाडी जस्तो हुन्छ । जहाँको त्यहीँ थन्किन्छ,ओलीले भने । देशको जुनसुकै कुनामा उभिए पनि एमालेले गरेको विकास देखिने ओलीको दाबी छ । एमालेले के गर्यो भनेर सोध्नेहरूले महाकाली वा दार्चुलाको उदाहरण हेर्नु पर्दैन । देशको जुनसुकै कुनामा उभिएर वरिपरि हेर्नुस्, एमालेले गरेको विकास देखिन्छ। जहाँ उभिनुभएको छ, त्यहीँबाट एमालेको विकास हाक्ने क्षमता प्रष्ट हुन्छ ।
















