वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

काठमाडौं । वीरगञ्जमा कर्फ्यू हटाएर निषेधाज्ञा लगाइएको छ । समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू हटाइ निषेधाज्ञा जारी गरेको हो । पछिल्लो परिस्थितिलाई मध्यनजर जनाउँदै पर्सा प्रशासनले बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्म कर्फ्यू लगाएको थियो । ‘साँझ ४ः३० बजेदेखि भोलि बिहान मिति २०८२।११।१२ गते बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्ने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ, आदेशमा भनिएको छ ।

आज नै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको थियो । आइतबार राति दुई पक्षबीच विवाद उत्पन्न हुँदा वीरगञ्जको श्रीपुर क्षेत्र तनावग्रस्त बनेको थियो । उक्त तनावबाट वीरगञ्जको परिस्थिति नबिग्रियोस् भनेर स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फ्यू लगाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *