निर्वाचन बिथोल्न खोज्ने ४२ जना पक्राउ, १४ मात्रै हिरासतमा

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गरेको आरोपमा प्रहरीले ४२ जनालाई पक्राउ गरेको छ । जसमध्ये अहिले हिरासतमा भने १४ जना मात्रै रहेका छन् । देशभरबाट ४२ जनालाई नियन्त्रणमा लिइएको केहीलाई सम्झाई बुझाई छाडिएको, केहीलाई भने अदालतले छाड्न आदेश दिएकाले छाडिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले बताए । अदालतको आदेशपछि आज बुधबार मात्रै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं छुटेका थिए । मंगलबार मात्रै नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कटेल अदालतको आदेशपछि छुटेका थिए । अहिले हिरासतमा नेकपा बहुमति पार्टीका धर्मेन्द्र बाँस्तोला, विष्णु तिमल्सिना छन् । तनुहँको शुक्लागण्डकी–७ टुडाका ४४ वर्षीय मनबहादुर गुरुङ, कास्कीका २४ वर्षीय गगन परियार पनि हिरासतमा छन् । तनहुँकै व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय अग्नी भनिने नेकपा बहुमतका केन्द्रीय सदस्य लक्ष्मण पाण्डे, माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार पनि हिरासतमा छन् । कपिलवस्तुको शिवराज नगरपालिका–१ का क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सदस्य ५८ वर्षीय शोभे थारु भनिने खोमे थारु पनि हिरासतमा छन् । दुर्गा प्रसाईं पक्राउ परेपछि बिरोध प्रदर्शनमा उत्रिएका रामचन्द्र कोहार, खेम गुरुङ, उनकी श्रीमती ४५ वर्षीया जिनसरी गुरुङ पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । हरि बहादुर श्रीस, प्रेमकुमार थाम्सुहाङ्ग, देवी संग्रौला, गोपाल बोहरा पनि हिरासत छन् । सुरक्षा स्रोतका अनुसार अहिले विभिन्न १२ वटा समूह चुनाव बहिष्कारमा लागेका छन् ।

१२ समूहबाट निर्वाचनमा सुरक्षा थ्रेट हुनसक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन् । कम्युनिस्ट पार्टीदेखि राजावादीसम्मबाट सुरक्षा चुनौती हुनसक्ने प्रहरीको विश्लेषण छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहदेखि अन्य राजावादी समूहलाई पनि चुनौतीको रुपमा लिइएको छ । प्रसाईंकै समूहको पीडीएफ (पब्लिक डिफेन्स फोर्स) र एटीएफ (एनी टाइम फोर्स(लाई पनि चुनाव बिथोल्न सक्ने समूहमा राखिएको छ । शाही युवा शक्ति नेपालका पशुपति खड्कादेखि सन्तोष राजावादीसम्म सुरक्षा संयन्त्रको निगरानीमा छन् । त्यसैगरी, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत पनि चुनाव बिथोल्न सक्ने समूहमा छन् । विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, महेन्द्र मल्लको नेकपा जनपक्ष, ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपालको एउटा समूह, पहिचानवादी समूह, मंगोल नेसनल अर्गनाइजेसन र रोहिंग्या अर्थात् शरणार्थीहरूलाई पनि निर्वाचनमा चुनौती हुनसक्ने समूहमा राखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *