कांग्रेस सभापतिद्धारा मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताप्रति आभार प्रकट गर्दै बधाइ र सम्मान व्यक्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उत्साहजनक सहभागिता जनाएकोमा सभापति थापाले बधाईसहित आभार प्रकट गरेका हुन् । “प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ,” थापाले भनेका छन्, “निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गर्दछु ।

उनले नागरिकको निर्वाचनमा देखिएको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वासलाई पुष्टि गरेको बताएका छन् । राजनीतिक दल र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको उनले बताएका छन् । केही जिल्लाका केही क्षेत्रबाहेक शान्तिपूर्ण भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् । “निर्वाचन सफल बनाउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार र बधाई प्रकट गर्दछौँ, उनले भनेका छन् । जिम्मेवारीपूर्ण भूमिकाका लागि राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि धन्यवाद ज्ञापन गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *