प्रेम सुवालको जितको ‘ह्याट्रिक’मा बाधक बने रास्वपाका रन्जित, ०४८ देखिको किल्ला भत्कियो

काठमाडौं । भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी उमेदवार रुकेश रन्जित विजयी भएका छन् । रन्जितले निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उमेदवार प्रेम सुवाललाई पराजित गरेका हुन् । रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत प्राप्त गरे । रन्जितको यो ऐतिहासिक जित हो । यो क्षेत्रमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिका गरी दुई स्थानीय तह पर्छन् । एक लाख ७ हजार ५४ जना मतदाता रहेको यो क्षेत्र नेमकिपाको गढ मानिँदै आएको थियो । यस क्षेत्रमा २०४८ देखि ०७९ सम्मका सातवटै चुनाव नेमकिपाले जितेको थियो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ०४८ देखि ०७० सम्म पाँचपटक चुनाव जितेर रेकर्ड कायम गरेका थिए । यसरी नै ०७४ र ०७९ मा यो पटक पराजित भएका प्रेम सुवाल लगातार दुई पटक निर्वाचित भएका थिए । सुवाल जितको ह्याट्रिकको खोजीमा थिए । सुवालको ‘ह्याट्रिक’मा भने रास्वपाका रुकेश रन्जित बाधक बने । सुवालले गएको चुनावमा निकटतम प्रतिस्पर्धीलाई ३० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । ०७९ को चुनावमा उनका प्रतिस्पर्धी एमालेका नवराज गेलाल थिए । सुवालले ४२ हजार ७६१ मत ल्याउँदा गेलालले ११ हजार ९६८ मत मात्रै प्राप्त गरेका थिए । देशभर नेमकिपाले यही एक क्षेत्रबाट मात्रै जित निकाल्ने गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *