चुनाव हराउनेका उजुरीमा कांग्रेसको अनुशासन समितिले थाल्यो अध्ययन
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले चुनावमा पार्टीका उमेदवारलाई विश्वासघात गर्ने, चुनाव हराउने, अन्य उमेदवारलाई सघाउनेसहितका उजुरीमा कारबाहीको प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि उसले प्रारम्भिक छानबिन सुरु गर्ने निर्णय गरेको हो । समितिको निर्णयमा भनिएको छ, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनका उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गर्दछ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सर्मनाक हार भएसँगै धेरै निर्वाचन क्षेत्रबाट उजुरी दिने क्रम जारी छ । उजुरीको संख्या बढ्दै गएपछि केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिले सचिव नियुक्त गर्दै प्रारम्भिक अध्ययन सुरु गरेको हो । समितिको सचिवमा केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगर नियुक्त भएका छन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि– २०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गर्दछ,” समितिको निर्णयमा भनिएको छ ।
















