चमेली कल्याणकारी साकोसले पायो प्राधिकरणबाट बचत ऋणको कारोबार गर्न इजाजत
भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले‘ संस्था सञ्चालन इजाजतपत्र’ लिएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संस्था सञ्चालन इजाजत पत्र लिएको हो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुका लागि दर्ता अभिलेखीकरण सुरु गरेसँगै चमेली कल्याणकारीले पनि इजाजतपत्र लिएको जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्था सञ्चालन इजाजतपत्र प्रदान गरिएको प्राधिकरणले जनाएको छ । संस्थाको इजाजतपत्र नं.२०५९ –००६८४ रहेको छ ।
जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र सूयविनायक नगरपालिका भर रहेको छ । सहकारी प्राधिकरणले गत मसीर १० गतेबाट संस्थाहरुलाई इजाजतपत्र प्रदान गर्नको लागि सफ्टवेयर मार्फत दर्ता खुला गरेको थियो । यस आर्थिक बर्षको माघ मसान्तसम्म संस्थाको शेयर पूँजी ६ करोड ६६ लाख ४३ हजार,जगेडा कोष ९ करोड ५१ लाख ८२ हजार र कुल संस्थागत पूँजी ९ करोड ८९ लाख ६६ हजार रहेको छ । संस्थाले त्यस अवधिमा ७९ करोड ८३ लाख बचत संकलन गरी गरी ६८ करोड ७९ लाख ६९ हजार ऋण लगानी गरेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति १ अर्व ३ करोड ६९ लाख ५८ हजार पुगेको छ । । संस्थामा ५ हजार १ सय ७७ सदस्य आवद्ध रहेका छन् ।
















