हजुर’बा ०१५ सालमा, नातिनी ०८२ मा सांसद,प्रत्यक्ष निर्वाचनमा कांग्रेसबाट एक्ली प्रतिनिधिसभा सदस्य

काठमाडौं । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट एक मात्र महिला उमेदवार बासना थापा विजयी भएकी छिन् । दैलेख १ बाट नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी थापाले नेकपा एमालेका उमेदवार रविन्द्रराज शर्मालाई पछि पार्दै जित हासिल गरेकी हुन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनावी रेसमा रहेका उमेदवारमध्ये जित हासिल गरेको १८ जना अहिले संसदीय यात्रामा छन् । ती १८ जनाको भीडमा थापा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत कांग्रेसबाट एक्ली प्रतिनिधिसभा सदस्य हुन् । बासना थापा राजनीतिक क्षेत्रमा नयाँ नाम भने होइन । उनले विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश हालेकी हुन् । उनले भनिन्, “२०५६, २०५७ देखि नै मेरो राजनीति यात्रा सुरु भएको हो । बीचमा सामाजिक कार्यमा सक्रिय थिएँ । म २०७४ सालमा स्थानीय तह निर्वाचनका लागि दैलेखको नारायण नगरपालिकाको उपमेयर पदका लागि प्रतिष्पर्धामा थिएँ । म नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको महासमिति सदस्य पनि हो । प्रतिनिधिसभा सदस्यमा चयन भएकी थापा राजनीतिसँगै व्यवसाय पनि सँगै लैजाने बताउँछिन् । उनले भनिन्,“महिलाको आर्थिक पाटो सबल हुन जरुरी छ । अनि बल्ल राजनीतिमा पनि जान सहज हुन्छ । मैले दैलेखमा होटल व्यवसाय गर्दै आएकी छु । होटल पार्क इन मैले व्यवसायका रुपमा सञ्चालन गरीरहेकी छु । राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमत प्राप्त गर्दा आफु बलियो प्रतिपक्षीको भूमिकामा उभिने उनले बताइन् । उनी भन्छिन्, “उहाँहरुलाई जनताले काम गर्नु भनेर बहुमत दिएर पठाउनु भएको छ । उहाँहरुले गर्ने राम्रो काममा सँगसँगै म पनि उभिनेछु ।

नकारात्मक कामप्रति म बलियो प्रतिपक्षीका रुपमा खबरदारी गर्नेछु । त्यसो त नायिका बिपना थापाकी बहिनीको रुपमा पनि बासना थापालाई चिनिन्छ । तर उनले आफ्नो छुट्टै परिचय बनाएकी छिन् । काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालय वाफलबाट एसएलसी उतीर्ण गरेकी थापाले काठमाडौंको एलआरआई इन्टरनेशनल स्कुलमा प्लस टु गरिन् । दैलेखबाटै स्नातक गरेकी थापाले समाजशास्त्रमा स्नातकोत्तर भारतबाट गरिन् । र, हाल जेन्डर इक्वेलिटी ल एण्ड पोलिटिकलमा पीएचडी गरिरहेकी छिन् । उनी भन्छिन्, कर्णालीका महिला र युवाले काठमाडौंको जस्तो अवसर पाएका छैनन् । यहाँ जुन स्तरको शिक्षा हुनुपर्ने हो त्यो छैन । अवसरहरु पर्याप्त छैनन् । रोजगारीका लागि युवा बाहिर जानुपरेको छ । राज्यले काठमाडौं र कर्णालीलाई हेर्ने दृष्टिकोण फरक छ । यो खाडल पुरिनुपर्छ । कर्णालीमा मौलिकता छ, यहाँका मान्छेले जति पाउँछन् त्यसको सदुपयोग गर्छन् । अहिले चुनावको नतिजाले पनि यो जगजाहेर नै छ ।” उनले भनिन् । थापाले आफ्नै परिवारका सदस्यले राजनीति र सार्वजनिक सेवाप्रति प्रेरित गरेको बताइन् । उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको ऐतिहासिक आमनिर्वाचनमा काठमाडौँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यही राजनीतिक विरासत र प्रेरणाले उनलाई पनि सार्वजनिक जीवन र राजनीतितर्फ अघि बढ्न उत्साहित गरेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *