जिल्ला सहकारी संघ काभ्रेले ६९औं सहकारी दिवसमा विविध कार्यक्रम गर्ने
काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि काभ्रे (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ। “उद्यमशिलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित दिवसलाई सहभागीमूलक र प्रभावकारी रूपमा मनाउने तयारी गरिएको संघले जनाएको छ। संघका अनुसार सहकारी दिवसलाई औपचारिकतामा सीमित नराखी सहकारीका सिद्धान्त, मूल्य र मान्यतालाई व्यवहारमा उतार्ने अवसरका रूपमा कार्यक्रमहरू डिजाइन गरिएको हो। उद्यमशिलता प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि, सहकारीबीच समन्वय विस्तार र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखिएको छ। कार्यक्रमअन्तर्गत चैत्र १६ गते “सहकारीमा महिला उद्यमशिलता विकास” सम्बन्धी एकदिने अन्तरक्रिया आयोजना हुनेछ। कार्यक्रममा महिला सदस्यहरूको उद्यम क्षमता विकास, स्वरोजगार सिर्जना, आयआर्जनका सम्भावना तथा उद्यम सञ्चालनका व्यावहारिक पक्षमा छलफल गरिनेछ। साथै, चुनौती, समाधानका उपाय, सहकारीबाट उपलब्ध वित्तीय तथा प्राविधिक सहयोग र सफल अभ्यासहरूबारे अनुभव आदानप्रदान गरिनेछ।
त्यसैगरी, चैत्र १८ गते अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता आयोजना गरिनेछ। यसले सहकारी संस्थाबीच सम्बन्ध सुदृढ गर्ने, सहकार्यको भावना बढाउने तथा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। मुख्य कार्यक्रम चैत्र २० गते सम्पन्न हुनेछ। सो दिन बिहान सहकारी आन्दोलनका अग्रज व्यक्तित्वहरूको सम्मानमा तस्बिरमा माल्यार्पण, राष्ट्रिय तथा सहकारी झण्डा फहराउने कार्यक्रम रहनेछ। साथै, संघ परिसरमा वृक्षारोपण, बिहान १०स्३० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अवसरमा फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिनेछ। संघले सम्पूर्ण सहकारी संघ–संस्था, अभियन्ता, सदस्य तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै यस्ता कार्यक्रमले सहकारी क्षेत्रको विकास, पारदर्शिता अभिवृद्धि र उद्यमशिलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
















