ओली र लेखक कति दिन थुनिन्छन् ? अब अदालती प्रक्रिया के हुन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ परेको २४ घण्टाभित्र आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइने छ । फौजदारी कानुनका विज्ञले बताए अनुसार उनीहरुलाई ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको पुर्जी दिएर पक्राउ गरेका कारण अदालतबाट समर्थन गराउनुपर्ने हुन्छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकबाट ‘लापरबाहीले ज्यान मार्ने’ घटना भएको ठहर गरे पनि संगठित अपराध पनि जोडिन सक्ने फौजदारी कानुनका जानकारको भनाइ छ । ‘‘जरुरी पक्राउ पुर्जी पहिल्यै लिइसकेको छ, भोलि अदालत लगेर थुना म्याद थप गर्ने कार्य हुन्छ । कर्तव्य ज्यान र संगठित अपराध दुवै मुद्दा चल्ने सम्भावना रहन्छ, फौजदारी कानुनका विज्ञ प्रा.डा. रजितभक्त प्रधानाङ्गले बाह्रखरीसँग भने, ‘‘ज्यादती पनि जोडिएको हुँदा त्यस्को कारणबाट सिर्जना भएका घटनामा थुप्रै अपराधहरुमा मुद्दा चल्न सक्छ । उनका अनुसार संगठित अपराधमा मुद्दा चलाउने अवस्थामा थप ९० दिन थुनामा रहनुपर्ने हुन सक्छ । फौजदारी संहिता, २०७४ को दफा ४२ र ४४ अनुसार संगठित अपराध जोडेर मुद्दा चलाइए परिस्थिति अर्कै हुने प्रधानाङ्गको भनाइ छ ।

‘‘यो अनुसार ९० दिन थुना र भिन्नै सजाय हुन सक्छ । अरु थप अपराध भएकोमा पनि सरकारी वकिलबाट भिन्नै ‘केस’ जान सक्छ,’’ उनले भने, ‘‘दफा ४२ र ४४ लगाएर मुद्दा गयो भने थप अप्ठ्यारो पर्न सक्छ । प्रधानाङ्गका अनुसार अहिले आयोगले हेलचक्र्याईपूर्वक भने पनि ‘सम्पत्ति शुद्धीकरण’ समेत जोडिन सक्ने छ । उनले अहिलेसम्म कुनै आयोगको प्रतिवेदन कार्यान्वयन नभएको अवस्थामा यसपल्ट पहिलोपल्ट लागू गर्दा अवस्था यही हुन्छ भनेर अनुमान गर्न नसकिने पनि बताए । नायब महान्यायाधिवक्ता संजिवराज रेग्मीले पनि सुरुमा अदालतमा लगेर थुना म्याद थप गर्ने प्रक्रिया हुने बताए । ‘‘त्यसपछि पक्राउ पुर्जी समर्थन हुन्छ । त्यसपछि के–के अनुसन्धान गर्ने हो त्यतातिर कानुनी कोर्ष अघि बढ्छ,’ रेग्मीले भने, ‘‘थुनाको कुरामा ज्यान मारेको कसुरमा अदालतको अनुमतिले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । यसमा बढीमा २५ दिन हुन्छ । पछि अनुसन्धानबाट के देखिन्छ, त्यस्मा पनि भर पर्छ । कानुनविद्का अनुसार भविष्यमा यसबाहेक सम्पत्ति नास गरेको, घाइतेको ज्यानमार्ने उद्योग, ज्यान गइसकेकोमा ‘ज्यान’ मुद्दा पनि चल्नसक्छ । ‘‘नितपूर्वक मारेकोमा कर्तव्य ज्यान नै हो । मान्छे मर्न सक्छ भन्ने जान्दाजान्दै गोली हानेर घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र लापरबाही हुन्छ । मनसाय नराखेको भए हेलचक्र्याईं पनि हुनसक्छ,’’ रेग्मीले भने, ‘‘अब सरकारी वकिल र प्रहरीको समन्वय र सल्लाहमा छानबिन र अनुसन्धान अघि बढ्छ । जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरबाही गरेको ठहर गरेको थियो । त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनका अनुसार पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरेको थियो । रेग्मीका अनुसार मुलुकी अपराध संहिताको २८१, २८२ र २८३ दफा अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । यस्तोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *