ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्नू – अदालत
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा प्रभावकारी आवश्यक व्यवस्था गर्न आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश जारी गरेको हो । ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरिदिएको छ,’ न्यायाधीश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउलगत्तै अस्पताल भर्ना भएका ओली भने बिरामी भएका कारण इजलासमा भर्चुअल रुपमा उपस्थित भएका थिए । ओलीलाई हिजो (शनिबार) बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।
















