ओलीलाई जरुरी पक्राउ पुर्जी’को कारण खुलाउनू – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गर्नुको जवाफ मागेको छ । सर्वोच्चले ओलीलाई उक्त पुर्जी दिएर पक्राउ गर्नुको कारणसहित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको हो । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदनसहित जवाफ पेस गर्न सर्वोच्चले आदेशमा भनेको छ । ओलीकी पत्नी राधिका शाक्यले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश मेघराज पोखरेको एकल इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चले जाँचबुझ आयोगको प्रतिवेदन पेस गर्न समेत आदेश दिएको छ । सर्वोच्चले ओलीको पक्राउमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६) को पूर्वअवस्था विद्यमान भए,नभएको विषयमा तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको हो । उक्त दफामा जरुरी पक्राउ पुर्जीबारे उल्लेख छ । आदेशमा २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तथा अनुसन्धानको क्रममा तयार पारिएको सक्कल मिसिलसमेत महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाइ पेस गर्न भनिएको छ । आदेशमा भनिएको छ पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(६) को पूर्वअवस्थाको विद्यमानता रहे,नरहेको समेत खुल्ने गरी बाटोको म्यादबाहेक सूचना पाएको मितिले तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू । यो दफाअनुसार, आरोपित व्यक्ति तत्काल पक्राउ नभएमा भाग्ने, उम्कने, प्रमाण, दसी वा सबुद नष्ट गर्ने कारण देखिए निजका नाममा ‘जरुरी पक्राउ पूर्जी’ जारी गर्न सकिने प्रावधान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *